धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले आफु मेयरमा निवार्चित भएपछि धरान उपमहानगरपालिकाभित्रको भ्रष्टचारको पर्दाफास गर्ने प्रतिवद्धता जनाएका छन् । साथै,उनले मेयरको हैसियतमा आफुले पाउने कुनै पनि तलब, भत्ता तथा सेवा सुविधा नलिने पनि उद्घोष गरेका छन् ।

आज मंगलबार धरानको भानुचोकमा आयोजित विशाल आमसभामा बोल्दै उम्मेदवार राईले यस्तो प्रतिवद्धता र उद्घोष गरेका हुन् । उनले वर्तमान नेकपा नेतृत्वको जनप्रतिनिधि र केही भ्रष्ट कर्मचारीहरु मिलेर उपमहानगरमा व्यापक भ्रष्टचार भइरहेको र तिलक राईले जितेर आएपछि पर्दाफास हुने डरले अनेक हत्कण्डा मच्चाइरहेको पनि बताए । आफु निर्वाचित भएर गएपछि विगतको सबै भ्रष्ट कर्तुतहरुको पर्दाफास गरेरै छाड्ने उम्मेदवार राईको भनाई थियो ।

‘नगरपालिकामा बेथिती र विकृतिको चाङ छ । जनताले सेवा सुविधा पाएका छैनन्, विकास र समृद्धिको अनुभूति गर्न पाएको छैन, त्यसैले यसपाली धरानको भविष्य, विकास र समृद्धिको लागि परिवर्तनको पक्षमा कांग्रेसलाई भोट दिन आह्वान गर्न चाहन्छु,’उम्मेदवार राईले भने,‘नगरपालिकाभित्र कम्युनिष्ट नेता र केही भ्रष्ट कर्मचारीहरुको हालीमुहाली छ । बन्दकोठाभित्र ठुलो भ्रष्टचार छ, नीतिगतरुपमा भएको ती भ्रष्टचारको म गएपछि पर्दाफास गर्नेछु । तिलक राईले जितेर आउने निश्चित देखेर अहिले नगरपालिकाका भ्रष्ट कर्मचारीहरुको ओठतालु सुकेको उनले बताए । तर, इमान्दार कर्मचारीहरु भने आफुलाई स्वागत गर्न ब्यग्र प्रतिक्षामा बसिरहेको पनि उनले बताए ।

tilak-rai--(1) 8

उम्मेदवार राईले धरानको खानेपानी, बसपार्क, एयरपोर्ट जस्ता महत्वपुर्ण आयोजनाहरुलाई नेकपा नेतृत्वको जनप्रतिनिधिले पुरा गर्नुको साटो तहसनहस परेको बताए । जनता खानेपानी नपाएर काकाकुल अवस्थामा हुदा खानेपानी आयोजनामा भने ५० औं करोड भ्रष्टचार भएको उनले दाबी गरे । ‘त्यो आयोजनामा व्यापक भ्रष्टचार भएको छ, त्यसको हिसाकिताब सार्वजनिक गर्न भनेर लिखितरुपमा माग गर्यौं, तर सार्वजनिक गरेनन् । भोली बुधबार यही हुने आमसभामा कम्युनिष्ट साथीहरुले खर्चको हिसाब देखाओस्, नत्र १४ गते पछि मेयरको कुर्सीमा बसेर तिलक राई आफैले त्यो भ्रष्टचारको पर्दाफास गर्नेछ,’उनले भने ।

अढाई बर्षमा जनताले विकासको अलिकति पनि अनुभूति गर्न नपाए तर चुनाव लागेपछि केही दिनयता पत्रपत्रिकाहरुमा नेकपा नेतृत्वको उपमहानगरको विकासे काम पढ्न पाइरहेको भन्दै उनले कटाक्ष पनि गरे । ‘दुई अढाई बर्षमा विकास के भयो, अनुभूति भएन । तर अहिले अखबरको पानामा विकास पढ्न पाइदैछ, के कागजमा विकास गर्न हामीले पठाएको हो ?’उनले भने,‘धराने जनताले मंसिर १४ मा यसको जवाफ दिनेछ ।’ अवैज्ञानिक र अव्यवहारिक करले जनताको ढाड सेकेको भन्दै उम्मेदवार राईले आफुले जिते पछि कर घटाउने पनि उद्घोष गरे ।