झापा : प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उच्च शिक्षामा सरकारले लगानी बढाउदै लैजाने बताएको छ ।

झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान बोल्दै उनले प्रदेश नं. १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसहरुलाई मर्ज गरिने समेत उल्लेख गरे । मर्ज भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने उनको भनाइ थियो । प्रदेशभरमा रहेका सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले मर्जको नीति लिएको धारणा राखे ।

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेज बस लगायतका भैतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताए ।

मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल रु. ३० लाख सहयोग प्रदान गरिने घोषणा समेत सोही कार्यक्रममा गरे ।