काठमाडौं : इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परेर १५ जना घाइते भएका छन् ।

उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए । त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् । यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनकाक्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । सन् २००३ मा सद्दाम हुसेनको पतनपछि जारी सबैभन्दा ठूलो प्रदर्शनमा कयौ घाइते भएको बताइएको छ ।

नेतृत्वविहिन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिंसात्मक गतिविधि बढाएको सरकारको आरोप छ ।