धरान: चन्दा आतंक मच्चाउने र बम बिष्फोटको योजनासमेत बनाइरहेको आशंकामा प्रहरीले पक्राउ गरेको ९ जना कार्यकर्तामध्ये ४ जनालाई छोडेको छ भने ५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्रहरीले सोमबार धरानको भानुचोक र धरान १५, निराजन वस्तीबाट ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान पछि निर्दोष देखिएका ४ जना रिहा भएका छन् भने ५ जना विप्लव कार्यकर्ता चन्दा आतंकसँगै अवाञ्छित गतिविधिमा संलग्न भएको देखिएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

विप्लवका कार्यकर्ताहरुले स्थानीय व्यवसायी तथा विभिन्न मानिसहरुसँग ठुलो रकम चन्दा माग गर्ने सूचना आएपछि प्रहरी गोप्यरुपमा परिचालन भएको थियो । प्रहरीका अनुसार भानुचोकबाट रमेश भनिने कुमार ढकाल समातिएका थिए । उनी चन्दा आंतक मच्चाउने मुख्य नाइके भएको प्रहरीले जनाएको छ । उनीसहित सुवास राई, दिपेन्द्र राई, पदम राई र महेन्द्र राईलाई चन्दा ऐनअन्र्तगत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्य ४ जना भने निर्दोष देखिएकोले रिहा गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मंसिर १४ गतेको उपनिर्बाचनमा हुन सक्ने अवाञ्छित गतिबिधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको बिशेष टोलीले चन्दा आतंक मच्चाउने विप्लव कार्यकर्ता पक्राउ गरेका हुन् । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ परेकाहरुबाट नयाँ २.५ लिटरको प्रेसर कुकर एक थानसहित आर्थिक सहयोगको रसीद २ थान, मोवाइल सेट १० थान र सिम १२ थान वरामद भएको छ । साथै, उनीहरुको साथबाट १ लाख १२ हजार ५ सय, डायरी एक थान र मोटरसाइकल २ थान पनि वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रहरीले सबैभन्दा पहिला धरानको भानुचोकबाट पुर्ववाइसिएल नेता रमेश ढकाललाई पक्राउ गरेको थियो । उनको वयानको आधारमा धरान १५ का वडाअध्यक्ष नरेश इवाराम लिम्बुको पुख्यौली घरबाट अन्य थप पक्राउ परेका हुन् ।

उक्त घर वडाअध्यक्ष इवारमको पुख्यौली हो । अध्यक्षको परिवार भने धरान ८ मा निर्माण भएको नयाँ घरमा बस्छन् । त्यहाँ ग्रिलमा काम गर्ने २ युवा कोठा भाडामा बस्दै आएका थिए । डिएसपी न्यौपानेका अनुसार विप्लव कार्यकर्ताहरुले पोखरा र धरानमा निर्वाचन लक्षित गरी बम पड्काउने तयारी गरेको थियो । सोमबार पोखराको वडा नं ३३ का अध्यक्षको गाडीमा विष्फोट गराएका थिए । यहाँ धरानमा पनि बिष्फोट गराउने उद्देश्यले प्रेसर कुकर खरीद गरेका ल्याएको तर योजना विफल भएको प्रहरीको दाबी छ । ‘पोखरा र धरानमा एकै दिन पड्काउने योजना थिएछ, तर यहाँ सफल भएनन्,’डिएसपी न्यौपानेले भने ।