धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले आफु मेयरमा निवार्चित भएपछि धराने जनताको शिर झुक्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

आज भानुचोकमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफु पार्टीको म्याण्डेट तथा घोषणा पत्र अनुसार काम गर्ने र धराने जनताको शिर निहुरिने कुनै पनि काम नगर्ने बताएका हुन् । ‘म धरानबासी जनताको शिर निहुरिने गरी, पार्टीको शिर निहुरिने गरी कुनै पनि काम गर्ने छैन, यो प्रतिवद्धता व्यक्त गर्दछुँ,’उनले भने ।

उम्मेदवार राईले आफु पुर्णरुपमा धरानको विकास र जनताको सेवामा समर्पित हुने पनि बताए । २०७४ को स्थानीयतह निर्वाचनमा धराने जनताले नेकपालाई ५ बर्षको लागि म्याण्डेट दिए पनि मेयर तारा सुब्बाको बीचैमा निधन भएको र अहिले आफ्नो उम्मेदवारी स्वर्गीय मेयर सुब्बाकै निरन्तरता भएको पनि बताए ।

nekapa-prakash

स्वर्गीय मेयर सुब्बाकै पालामा पार्टीको घोषणापत्र अनुसार धरानको सुशासन, विकास र समृद्धिको योजना अघि बढेकोले आफु विजयी भएपछि त्यसलाई निरन्तरता दिदै पुरा पनि गर्ने प्रतिवद्धता जनाए । ‘२०७४ सालमा धरानका जनताले नेकपालाई ५ बर्षको म्याण्डेट दिएका हुन्, तर एक बर्ष कार्यकाल नबित्दै मेयर तारा सुब्बाको दुःखद निधन हुनपुग्यो,’उम्मेदवार राईले भने,‘म तारा सुब्बाकै निरन्तरता हुँ, उहाँले शुरु गर्नुभएको अधुरो काम र योजनालाई पुरा गर्नेछुँ ।’

उम्मेदवार राईले धरान सबै भाषा, धर्म, जाति, सँस्कृतिको सहर भएको स्वमित्व ग्रहण गराउने साथै लक्षित वर्गलाई पनि समान अधिकारको प्रत्याभुति दिलाउने उनले बताए । संघ र प्रदेशमा पनि नेकपा नेतृत्वकै सरकार भएकोले विकासका ठुला योजनाहरु ल्याउन सहज हुने उनको भनाई थियो । धरानमा खेलग्राम निर्माण गर्ने, सर्दु र सेउती करिडोर निर्माण गर्ने, स्मार्ट बसपार्क बन्ने योजनालाई आफुले पुर्णता दिने बताए । यस्तै, अव्यवस्थित सुकुम्बासीहरुलाई व्यवस्थापन गरेर धरानलाई सुकुम्बासीरहित सहर बनाउने पनि उनले बताए । खानेपानी आयोजनालाई पुर्णता दिने साथै करको बिषयमा विज्ञहरुसँग पुनः राय, सुझाव लिने पनि उनले बताए ।