काठमाडौं: मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

३५ जिल्लामा ५२ पदको लागि हुने उपनिर्वाचनमा मतदातासँग मत माग्ने आज अन्तिम दिन हो। १४ गते हुने उपनिर्वाचनमा एक प्रतिनिधिसभा र ३ स्थानमा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ। त्यस्तै ४८ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। जसका लागि ५ सय ३७ मतदान केन्द्र तोकिएको छ।

४८ पदको लागि स्थानीय तहको उपनिर्वाचनमा २ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा निम्न कुरा गर्न पाइनेछैन् ।
- निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन।
- मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ।

- एस.एम.एस, फेसबुक, भाईबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

- उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन्।