सिस्नोमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । तर, सहरका पाँचतारे होटेलहरूको मेनुमा भने सिस्नोको तरकारी भेटिन्छ । त्यस्तै, ठूला–ठूला सुपरमार्केटमा सिस्नोको धुलो सजिलै पाइन्छ । सिस्नो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

औषधीय गुण

-सिस्नोमा प्रशस्त मात्रामा फलाम पाइने भएकाले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
-कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
-पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ । हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ । सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
-यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

उपयोग विधि

-सिस्नो बहुउपयोगी वनस्पति हो । विदेशमा यसको अत्यधिक माग हुने भएकाले खेती गरेर निर्यात गर्नसमेत सकिन्छ । सिस्नो जति काट्यो त्यति नै पलाउने गर्छ । त्यसैले यसलाई उत्पादन गर्न सहज छ । सिस्नो विशुद्ध अर्गा्निक उत्पादन हो । यसमा विषादीको कुनै डर हुँदैन ।

-सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
-सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने र तरकारी तथा सुपमा राखेर खान पनि सकिन्छ ।

-सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।