इटहरी:इटहरी उपमहानगरपालिकामा एक आर्थिक बर्षमा इन्धन खर्च मात्र बर्षमा ४३ लाख रुपैँया बढी भएको पाइएको छ ।

उपमहानगरमा रहेका सवारी साधनमा इन्धन प्रयोजन बापत लाखौं खर्च हुने गरेको पाइएको हो ।उपमहानगरले सवारीसाधन उपलब्ध नगराएका कर्मचारीहरुलाई पनि इन्धन दिनेगरेको छ । उपमहानगरबाट प्राप्त जानकारी अनुसार इन्धनमा गत आर्थिक बार्षिक ४३ लाख ४१ हजार ३ सय ७४ रुपैँया ९९ सय पैसा खर्च भएको छ । यो रकम महिनाको सरदर ३ लाख ६१ हजार रुपैया हुन्छ । इटहरी उपमहानगरमा ३३ वटा सवारीहरु छन् । ती सवारी जनप्रतिनिधि र कर्मचारीहरुले प्रयोग गर्छन् । तिनै सवारीको लागि बर्षमा लाखौं रुपैया इन्धनमा खर्च भइरहेको छ ।

जनतालाई करको भार बोकाएर जनप्रतिनिधि र कर्मचारीहरु लाखौं रुपैया इन्धनमा खर्च गर्ने गरेका छन् । उपमहानगरको यो खर्चबाट सर्वसाधारणहरु सन्तुष्ट छैनन् । इटहरी उपमहानगरपालिकामा १५ वटा मोटरसाईकल छ भने ३ टा स्कुटर, ५ वटा ट्याक्टर, ४ वटा जिप, दुईवटा ट्रिपर रहेको छ । यस्तै, एउटा कार, एउटा कन्टेनर, एउटा लोडर रहेको उपमहानगरपालिकाको तथ्याङ्कमा छ । जसमध्ये एउटा स्कारपिओ केही साता अगाडि मात्र खरीद गरिएको हो । उक्त सवारी मध्ये नगरप्रमुख र उपप्रमुखले एक–एक वटा स्कारपिओ प्रयोग गर्दै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृतले कार प्रयोग गर्ने गरेका छन् ।

122

यस्तै, प्रमुख महिला विकास अधिकृतलाई स्कुटर, लेखा अधिकृत, लेखाले सेतो नम्बर प्लेटको मोटरसाईकल तथा स्कुटर प्रयोग गर्दै आएका छन् भने अन्य प्रयोग गरिएको सवारीमा नाम मात्र खुलाईएको छ । उपमहानगरमा २ वटा बारुण यन्त्रमध्ये एउटा बिग्रेर थन्किएको छ । अत्यावश्यक सेवाको दमकल मर्मत गर्नुको साटो जनप्रतिनिधिहरु भने आफुलाई विलासी नयाँ गाडी खरीद गर्न ध्यान दिइरहेका छन् । ‘केही समय अगाडि ३२ वटा मात्र सवारी रहेको थियो,’एक कर्मचारीले भने, ‘अहिले एउटा स्कारपिओ थपिएर ३३ वटा भएको छ ।’

उपमहानगरको कार्यालय प्रयोजनको लागि दिइएको सवारी शनिबार तथा बिदाको दिनमा पनि प्रयोग गरिदैँ आएको छ । कार्यालयको सेतो नम्बर प्लेटको सवारी दुरुपयोग भइरहेको बिषयमा उपमहानगरपालिकाले आवश्यक कुनै कदम चालेको देखिदैन । इटहरीका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले २० वटै वडाका सबै कर्मचारीलाई सवारी नदिए पनि इन्धन भने उपलब्ध गराइएको बताए । ‘यहाँका २० वटै वडाका कर्मचारीलाई लाईसेन्स भएको खण्डमा मासिक ५ लिटर इन्धन दिने भनिएको छ,’उनले भने,‘मेशिनरी र औजारका लागि पनि इन्धन प्रयोग हुँदै आएको छ ।’

12

उनका अनुसार वडाका कर्मचारी तथा वडाध्यक्षलाई सवारी नदिएको भए पनि कर्मचारीहरुका लागि कार्यपालिकाले नै निर्णय गरेर इन्धन दिने गरिएको छ । उपमहानगरपालिकामा स्रोत कम भएकाले सबैले सवारी नपाएको उनले बताए । हालै एक सवारी खरीद गरेको बारे जानकारी दिदै उनले भेन,‘सवारी साधन त्यतिकै पनि अपुग , हामीलाई आवश्यक नै थियो ।’ उनले बारुण यन्त्र बिग्रिएर थन्किएको स्वीकार गर्दै विमलीले मर्मत गर्ने तयारी भइरहेको बताए । बार्षिक रुपमा इन्धनमा लाखौं खर्च भएको बिषयमा उनले उक्त रकम धेरै नभएको तर्क गरे । ‘त्यस्तो धेरै त हो जस्तो लाग्दैन,’उनले भने ।