झापा: मेची उद्योग वाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिकाको सहआयोजनामा सञ्चालन हुन लागेको महोत्सवको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आगामी पुस ९ गतेदेखि शुरु हुने भनिएको तेस्रो अन्तर्रा्ष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७६ लाई भव्यताका साथ सम्पन्न गराउन विहिबार मेची उद्योग वाणिज्य संघको कार्यालयमा सरोकारवालाहरुसँगको छलफल सम्पन्न भएको हो । संघको पूर्व अध्यक्षहरु, उद्योग वाणिज्य महासंघको प्रतिनिधि, सुरक्षा निकाय, स्थानिय तह, झापा उद्योग वाणिज्य संघ, दमक उद्योग वाणिज्य संघ, महोत्सवका विभिन्न उप समितिहरु लगायत अन्य सरोकारवालाहरुसँग छलफल भएको थियो ।

छलफलमा विशेष गरी महोत्सवको तयारीको विषयमा साथै अन्य विषयहरुमा गर्नुपर्ने गृहकार्यको चर्चा भएको थियो । महोत्सवका स्टलहरु र हालसम्म गरीएका महत्वपूर्ण कार्यहरुको बारेमा संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी गराउनु भएको थियो । त्यस्तै अन्य देशहरुबाट महोत्सवमा सहभागिता राख्ने विषयको तयारीको विषयमा बरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए । त्यस्तै महोत्सवको रुपरेखा तथा व्यवस्थापनको विषयमा भिभिड एक्सपोका ललित सिमखडाले जानकारी दिए ।

छलफलमा पूर्व अध्यक्ष केशवराज पाण्डे, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक गोविन्द बहादुर कार्की, होटल व्यवसायी सुरेश श्रेष्ठ, राजनीति कर्मी मणी उप्रेती, नगरपालिका प्रतिनिधि कृष्ण कनाल, वडाध्यक्ष सुदय पनेरु, झापा उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, दमक उद्योग वाणिज्य संघका गोकुल श्रेष्ठ लगायतले आफ्नो सुझाव दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सहजिकरण संघका सचिव धुब्र कनालले गरेका थिए ।