झापा: झापाको भद्रपुरस्थित मेची रंगशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भद्रपुर १० स्थित आदर्श क्रिकेट एकाडेमीले जिल्लामा छरिएर रहेका क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्य राखेर यही मंसीर १६ गतेदेखि १४ गतेसम्म जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता गर्न लागेको हो । एकाडेमीले आज चन्द्रगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

प्रतियोगितामा बोस्टन क्रिकेट एकाडेमी बिर्तामोड, युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड, धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर, मिलन क्रिकेट क्लव मेचीनगर, आर्दश क्रिकेट क्लव कचनकवल, मेची बहुमुखी क्याम्पस भद्रपुर, पैट्रियटिक क्रिकेट एकाडेमी दमक र आयोजक आदर्श क्रिकेट एकाडेमीसहित आठ वटा टिमको सहभागिता रहने एकाडेमीका अध्यक्ष तुलसी कार्कीले बताए ।

प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः ३५ हजार र २० हजार नगदसहित ट्रफि पाउने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ८३ हजार ३ सय रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ । त्यस्तै सोही प्रतियोगितामै नगर स्तरीय विद्यालयस्तरीय टी– टेन लिग क्रिकेट प्रतियोगिता समेत आयोजना हुने भएको छ ।