धरान: मौन अवधि शुरु भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक निर्वाचन सामग्रीहरु मतदानस्थलमा पठाएको छ भने नयाँ मतदाता परिचय पत्र वितरण पनि शुरु भएको छ ।

कार्यालयले बुधबारदेखि नै मतदानस्थलमा कर्मचारीसँगै निर्वाचन सामग्रीहरु पठाउन थालेको हो भने बिहिबारदेखि नयाँ मतदाता परिचयपत्र वितरण पनि शुरु गरेको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार प्रत्येक मतदानस्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक अधिकृत, २ जना कर्मचारी र एक जना कार्यालय सहयोगी खटाएको छ । यस्तै, आवश्यकता हेरेर ३ देखि ४ जना स्वयमसेवक पनि खटाएको अधिकृत उप्रेतीले जानकारी दिए । ‘मतपेटिकालगायत निर्वाचन सामग्रीसहित कर्मचारी खटिइसकेका छन्, मतदान केन्द्र निर्माण गर्न र मतदाता परिचय पत्र विरतण पनि शुरु भएको छ,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘२ दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन्छौं ।’

election-drn

धरानमा मेयर र वडा न. ७ मा वडाअध्यक्ष पदको लागि निर्वाचन हुदैछ । निर्वाचन कार्यालयका अनुसार कुल ९२ हजार ८ सय ५३ मतदाता छन् । यो अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो । २०७४ मा धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन हुनलागेको हो ।