धरान: मंसिर १४ को उपनिर्वाचनको लागि धरानमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ घेराको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार मतदान स्थलमा ३ घेराको सुरक्षा व्यवस्था छ । पहिलो सुरक्षा घेरामा जनपद प्रहरी रहनेछन् भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरीको सुरक्षा घेरा हुनेछ । उप्रेतीका अनुसार प्रत्येक मतदानस्थलमा १० जना जनपद प्रहरी हुन्छन् । ती मध्ये २ जना हतियारधारी प्रहरी हुनेछन् । ठाउँको संवेदनशिलता अनुसार ११ जना पनि प्रहरी हुनसक्ने उप्रेतीले बताए ।

मतदान केन्द्रको सुरक्षाको लागि ७ सय ५० जनपद प्रहरी खटिएका छन् । उनीहरुको भित्रि सुरक्षा घेरा रहेको हुनेछ । त्यसपछि, मतदान केन्द्र बाहिर सुरक्षाको लागि सशस्त्र प्रहरीको घेरा हुनेछ । धरानको उपनिर्वाचनमा ५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको मोवाइल टोलीले पनि निरन्तर गस्ती तथा पेट्रोलिङ गरिरहने मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । ‘सेनाको १० टोलीले निरन्तर पेट्रोलिङ गरिरहन्छ । आवश्यक परेको स्थानमा सशस्त्र प्रहरी २ मिनेटमै र सेनाको टोली ५ मिनेटभित्र पुग्नेछ,’उनले भने ।

elction-dhrana-chief

मतदानस्थलमा मतदान केन्द्रको संख्या अनुसार थप २ जना हतियारधारी प्रहरी परिचालन गरिनेछ । ‘एउटा मतदानस्थलमा १० वा संवेदनशिलता हेरेर ११ जना प्रहरी हुन्छन्, ती मध्ये २ जना हतियारधारी हुन्छन्,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘मतदानस्थलमा प्रत्येक मतदान केन्द्रमा पनि थप २ जना हतियारधारी प्रहरी हुन्छ । एउटा मतदानस्थलमा ४ वटा केन्द्र छ भने ८ जना हतियारधारी प्रहरी थपिएको हुन्छ ।’ धरानमा २८ वटा मतदानस्थल रहेको छ भने ९९ वटा मतदान केन्द्र रहेको छ ।