धरान: मंसिर १४ गतेको निर्वाचन पछि हुने मतगणनास्थलको सुरक्षा तथा मतगणना पारदर्शी बनाउन सिसिटिभीको व्यवस्था गरिने भएको छ ।

मतगणना धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । मतदान भइसकेपछि उम्मेदवारहरुको प्रतिनिधिहरुको रोहबरमा मतपेटिका अधिकृतको कार्यालयमा ल्याएर राखिनेछ । त्यहाँ पनि उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका जिम्मा लिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । उप्रेतीका अनुसार मतपेटिका सुरक्षित रहने कोठामा एउटा सिसिटिभि जडान गरिएको छ । यस्तै, मतगणनास्थलमा २ वटा सिसिटिभि जडान गरेर निगरानी गरिनेछ । यस्तै, भवन परिसरको गतिविधि निगरानी गर्न एउटा सिसिटिभि बाहिर हुनेछ ।

अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा चितवनको भरतपुरमा भएको घटना दोहोरिन नदिन मतगणनास्थको सुरक्षा प्रबन्ध कडा गरिएको हो । भरतपुरमा मतगणना भइरहदा तत्कालिन माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यस्तो घटना हुन नदिन मतगणनास्थलमा गणक कर्मचारी र उम्मेदवारको प्रतिनिधिबीचमा तारजाली पनि राखिने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए ।