धरानः प्राचीन हरिद्धारकोरुपमा प्रख्यात सुनसरीको चतराधामस्थित सिद्धबाबा कृष्णदास महाराजमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ ।

पीडित महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको छैन । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ ।

आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख गरेको समाचारमा जनाइएको छ । सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए । ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’नयाँ पत्रिका दैनिकसँग एसपी पोखरेलले भने, ‘घटना भएको हो, होइन, हामी अनुसन्धानकै क्रममा छौँ ।’

 सिद्धबाबासँग प्रहरीले सोधपुछसमेत गरेन

बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ । जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन । उनी आश्रममै छन् ।

स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका थिए । सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा चासो नदिएको हो । सिआइबीले घटनाको अनुसन्धान गरी त्यसबारे जानकारी दिनसमेत सुनसरी प्रहरीलाई निर्देशन दिएको थियो । सिद्धबाबा यसअघि पोखरामा नौ दिनसम्म समाधि बसेको भनेर चर्चामा आएका थिए । उनीमाथि दुईवटा नागरिकतालगायतका विवादका विषयमा प्रशासनमा उजुरी छन् ।

सुध्रिएन प्रहरीको कार्यशैली

महिलासम्बन्धी अपराधका घटनामा लापरबाहीका कारण प्रहरी पटक–पटक बदनाम भइसकेको छ । तर, पनि प्रहरी कार्यशैली सुध्रिएको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गर्दा प्रहरीले विश्वास गुमायो । सुरुमा हराएकी निर्मलालाई खोज्न प्रहरीले चासो दिएन भने पछि शव भेटिएपछि प्रमाणको सुरक्षामा लापरबाही भएको थियो ।

त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा समेत प्रहरीले सुरुमा घटना लुकाउन खोजेको थियो । बलात्कार प्रयास भयो भनेर महिलाले उजुरी गर्दा घटनास्थल पुगेको प्रहरी मुचुल्का नै नगरी फर्किएको थियो । पछि दबाब सिर्जना भएपछि भोलिपल्ट दिउँसो मात्र प्रहरी मुचुल्काका लागि घटनास्थल पुगेको थियो । जसकारण महराको मुद्दामा फिंगर प्रिन्टलगायत प्रमाण प्रहरीले संकलन गर्न सकेन । अझै पनि सकेसम्म कतिपय घटना लुकाउने खोज्ने प्रवृत्ति सुनसरी घटनाले समेत देखाएको छ ।

समाचार स्रोत: नयाँ पत्रिका दैनिक