फिदिम : पाँचथरमा मतदातालाई बाड्ने उद्देश्यले चामल बोकेर आएका नेता तथा कार्यकर्ताहरु चढेको गाडी नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।

मौन अवधिको समयमा खाद्य समग्रीसहित नेकपाका नेताहरु हिलिहाङ ७ तीनधारेको गाँउमा छिरेपछि बिहिबार राति ११ बजे काँग्रेस कार्यकर्ताले गाडी सहित चामल नियन्त्रणमा लिएका हुन् ।

मे १ ज २८८१ नम्बरको पिकअपमा रहेको दुई बोरा चामल सहितको खाद्य सामग्री नेपाल तरुण दलको नेतृत्वमा काँग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको तरुण दल अध्यक्ष सुमन लामाले जानकारी दिए । काँग्रेस कार्यकर्ताको नियन्त्रणमा रहेको गाडी र खाद्यसामाग्री नेपाल प्रहरीकोमा जिम्मा लगाइएको छ ।

नेकपाका नेता सहित चामल बोकेर गाँउ छिरेको उक्त गाडी कात्तिक २१ गतेदेखि नेकपाबाट हिलिहाङ ७ मा वडाध्यक्षको उम्मेद्वार बनेका गेहनाथ रिजालले भाडामा लिएका हुन् । नेकपाका उम्मेद्वार रिजालले २५ दिनका लागि आफ्नो गाडी भाडामा लिएको चालक बिनोद तिम्सिनाले बताए । गाडी नियन्त्रण भएको स्थानमा नेकपा नेता तथा जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिमल सापकोटाको समेत उपस्थिति थियो । घटनाक्रम हेर्दा नेकपाको गलत नियत देखिएपनि आफूहरुले त्यस्तो गर्न नखोजेको उनले बताए ।

काँग्रेस कार्यकर्ताले गाडी नियन्त्रणमा लिएपछि प्रहरीले गाडी सहित खाद्य सामग्री सदरमुकाम फिदिम ल्याएको थियो ।

साभार: हाम्रा कुरा डटकम