धरान: भोली मंसिर १४ गते उपनिर्वाचन हुन लागेको धरानमा आज मध्यराती १२ बजेदेखि अत्यावश्यक तथा अनुमति पत्र(पास) लिएकाबाहेक अन्य सवारीसाधनहरु प्रवेश निषेध हुनेछ ।

धरान प्रवेश गर्ने मुख्य ४ नाकामा मध्यराती १२ बजेदेखि नै सवारीसाधनहरु रोकिनेछन् । ती नाकाहरु भोली शनिबार मतदान सकिएपछि मात्र साँझ ७ बजेदेखि खुला हुने प्रहरी प्रशासनले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार विवाह, एम्बुलेन्स, चिकित्सकको टोली भएको सवारीलाई धरानमा चल्न छुट दिइनेछ । यस्तै, खानेपानीको गाडीलाई पनि अनुमति पत्र(पास) उपलब्ध गराएर चल्न दिइनेछ ।

यसबाहेक जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट अनुमति पत्र(पास) लिएका गाडी तथा मोटरसाइकलहरुलाई पनि चल्न छुट दिइनेछ । ‘अरु सबै दुई पांग्रे, चार पांग्रे सवारीसाधनहरु नाकामा नै रोकिनेछ,’डिएसपी न्यौपानेले भने । उनका अनुसार दक्षिणमा धरानको सिमाना रहेको तरहरासम्म मात्र गाडी आउन दिइनेछ भने पुर्वमा मोरङसँगको सिमाना चोक्टी, उत्तरमा धनकुटासँगको सिमाना भेडेटार र पश्चिममा बराहक्षेत्रको नडहामा नै धरान आउने सवारीसाधन रोकिनेछ । ‘आज राती १२ बजेदेखि भोली मतदान सकेपछि साँझ ७ बजेसम्म धरानमा सवारीसाधानलाई प्रवेश निषेध गरिन्छ,’डिएसपी न्यौपानेले भने ।