धरान: सिद्धबाबा भनेर चर्चित सुनसरीको चतराधाममा आश्रममा रहेका कृष्णदास जी महाराज विरुद्ध परेको बलात्कारको जाहेरी प्रहरीले दर्ता गरेको छ ।

प्रहरीले पीडित महिलाको जाहेरी दर्ता गरेपनि कृष्णदासलाई पक्राउ भने गरेको छैन । उनीमाथिको जाहेरी दर्ता भएको र आरोपबारे सुक्ष्मरुपमा अनुसन्धान भइरहेको सुनसरी जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको छ,’एसपी पोखरेलले भने,‘जाहेरी हिजो नै दर्ता भइसकेको छ ।’

कृष्णदास माथि कार्तिक ४ गते चतरास्थित उनकै आश्रममा बलात्कार गरेको भन्दै एक महिला अनुयायीले जाहेरी दिएकी छिन् । स्थानीय प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडित महिला काठमाण्डांैस्थित महानगरीय प्रहरी वृत्तमा पुगेकी थिइन् । त्यहाँबाट पनि उनलाई घटना सुनसरीको भन्दै फर्काइदिएपछि उनी केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा पुगेकी थिइन् । सिआइबीले उनको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी प्रहरीमा पठाइदिएको थियो ।

कृष्णदासलाई पक्राउ गर्न अदालतबाट अनुमति लिन बाँकी रहेको प्रहरी स्रोतको भनाई छ । संवेदनशील बिषय तथा पहुँचवाला धार्मिक व्यक्तित्व भएकोले प्रहरी उनलाई तत्काल पक्राउ गर्न हच्चिएको हो । सुनसरी प्रहरीले जाहेरी दर्ता नगरेको र पीडित महिलालाई फिर्ता लिन दबाब परेको समाचारहरु प्रकाशित भएपनि सुनसरीका एसपी पोखरेलले भने पीडितको जाहेरी दर्ता गरिसकेको दाबी गरे । ‘हिजो नै जाहेरी दर्ता भइसकेको छ, अनुसन्धान गरिरहेका छौं, पक्राउ गर्न बाँकी छ,’उनले भने ।