धरान: सिद्धबाबा भनिएका कृष्णदास जी महाराजमाथि लागेको बलात्कारको आरोप झुटो तथा कपोल्कल्पित भएको जगतगुरु श्री रामानन्दाचार्य सेवापिठले दाबी गरेको छ ।

सेवापिठका अध्यक्ष गणेश सुब्बाले कपुरीन्यूजसँगको सम्पर्कमा पीडित भनिएकी महिलाले कृष्णदासलाई पठाएको मोवाइल एसएमएस हेरेमा सबै कुरा छर्लंग हुने बताए । उनले सुनियोजितरुपमा नै ती महिलालाई परिचालन गरेको पनि दाबी गरे । ‘यो कपोलकल्पित, सुनियोजित हो । महाराज जीलाई पठाएको एसएमएस हेर्दा नै प्रष्ट भइहाल्छ नि,’अध्यक्ष सुब्बाले भने,‘ माया गर्छु, मान्छे बटुल्छु । मलाई छुन, ढोग्न पनि किन दिइसिन्न.. भन्न मिल्ने, नमिल्ने एसएमएस के के छ के के ।’

अध्यक्ष सुब्बाका अनुसार कृष्णदास जगतगुरु मात्र नभएर त्रिदण्डी पनि प्राप्त भएकोले उनले आगो र स्त्रीलाई छुनै हुदैन । त्यसैले ती महिलाले अनेक प्रपञ्च गरेपनि कृष्णदासले छुनै नदिएको उनको दाबी छ । ‘तपाई एसएमएस हेर्नुस, सबै प्रष्ट भै हाल्छ,’उनले भने ।

बलात्कार आरोप लागेका कृष्णदास हिजोदेखि उपचारको लागि विराटनगरमा छन् । उनको पेटमा पत्थरीया भएकोले उपचारमा गएका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कार मुद्दा दर्ता भएको छ । उनी पक्राउ भने परिसकेका छैनन् ।

अध्यक्ष सुब्बाका अनुसार तारक ब्रह्म महायज्ञको समयमा ती महिला श्रीमान्सँगै चतरा आएकी थिइन् । ती महिला काठमाण्डौं निवासी हुन् । उनको २ जना बच्चा पनि छन् । ‘श्रीमति र श्रीमान दुवै मिलेर बलात्कार भयो भन्छन्, तर यो हुदै होइन,’अध्यक्ष सुब्बाको दाबी छ ।