काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।

३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ । आयोगका अनुसार उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन् । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ ।

मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ । निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ ।