धनकुटा : विपद्लाई सहज तरीकाले व्यवस्थापन गर्न धनकुटामा एक वडा एक हेलिप्याड निर्माण सुरु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार एक वडा एक हेलिप्याडको अवधारणा अघि सारिएको हो । अहिलेसम्म धनकुटाका महालक्ष्मी नगरपालिका, शहिदभुमी गाँउपालिका तथा छथरजोरपाटी गाँउपालिकाको एक वडामा एक पक्की हेलिप्याड निर्माण गरिएको छ ।

करिब तीन लाख रुपैयाको लागतमा सम्बन्धित गाँउपालिकाको सहयोगमा धनकुटाको बरख गणले उपयुक्त स्थान हेरेर हेलिप्याडको निर्माण गरेको हो । निर्माण भएको हेलिप्याड सम्बन्धित स्थानीय तहलाई जिम्मा दिइएको छ ।

हेलिप्याड निर्माण भएपछि विपद् व्यवस्थापन गर्न सहज हुने जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले बताए । धनकुटाका सात स्थानीय तहमा ६० वडा रहेका छन् ।