धरान: धरानको मेयर र वडा नं ७ को वडाअध्यक्ष पदको लागि मतदान शान्तिपुर्णरुपमा जारी छ ।

मतदाताहरुले साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन् । मतदान चलिरहदा यता धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने मतगणनास्थलको तयारी भैसकेको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार कडा सुरक्षा व्यवस्था गरेर मतगणनाको तयारी गरिएको छ । मतगणनास्थलमा २ वटा सिसिटिभी राखेर निगरानी गरिएको छ भने मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घेराबारा(ब्यारियर) राखिएको छ ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार मतपत्रको सुरक्षाको लागि तारको घेराबारा गरिएको हो । विवादले मतपत्र च्यातिने सम्भावना भएकोले गणक कर्मचारी र उम्मेदवार प्रतिनिधिको बीचमा घेराबारा राखिएको हो । ‘मतदाताको मतलाई सुरक्षित राख्न यस्तो सुरक्षा प्रबन्ध गरिएको हो,’उनले भने ।

गएको स्थानीयतह निर्वाचन २०७४ मा चितवनको भरतपुरमा मतगणना भइरहदा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यसपछि नै मतगणना भइरहदा दलका प्रतिनिधि र गणक कर्मचारीबीच घेराबारा राख्न थालिएको हो ।

election-matganana