धरान: धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले केही बेरअघि मतदान गरेका छन् ।

उनले आफ्नो वडा १८ स्थित कार्मेल हाइस्कुल मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनले दिउँसो ४ बज्न ५ मिनेट अघि मतदान गरेका थिए । नेकपाका उम्मेदवार प्रकाश राईले पनि आजै बिहान सोही केन्द्रमा मतदान गरेका थिए । दुवै उम्मेदवार वडा १८ का बासिन्दा हुन् भने दुवैको मतदान केन्द्र पनि एउटै हो । आज बिहान दुवैले एकै समयमा मतदान गर्ने तय गरिएको थियो । तर, कांग्रेस उम्मेदवार राईले अकास्मत योजना परिवर्तन गरेपछि बिहान नेकपा र अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मात्र मतदान गरेका थिए ।

tilak-rai 11

मतदान पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार राईले मतदाताहरुको उत्साहतबाट आफु पनि उत्साहित भएको र आफ्नो जित सुनिश्चित भएको बताए । उनले अघिल्लो निर्वाचनमा भन्दा यसपटक ७० प्रतिशत आफ्नो मत बढेको दाबी गरे । साथै उनले सवारी चल्न नपाउदा ग्रामिण क्षेत्रका वृद्धवृद्धा तथा असहाय, अशक्त मतदाताहरुले मतदान गर्न समस्या भएको बताए । ‘असहाय मतदाताहरुलाई निक्कै असहज भयो, निर्वाचन आयोग वा राज्य पक्षले चुनावको दिन बिशेष ध्यान दिनुपर्ने देखियो,’उनले भने ।