फिदिम : पाँचथरको फिदिम नगरपालिका वडा नं. १ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन् । भट्टराई ४ सय ७४ मत अन्तरले विजयी भएका हुन् ।

कूल तीन हजार ६ सय ७६ मतदातामध्ये दुई हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले एक हजार ४ सय ४६ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित थिए ।

यसैगरी, हिलिहाङ गाउँपालिका-७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगोले ८ सय ४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गरेका हुन् । कूल दुई हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६ सय ९३ मत खसेको थियो ।