धरान: आफ्नै महिला अनुयायी माथि बलात्कार गरेको अभियोग लागेको सिद्धबाबा कृष्णदास गिरीलाई 'हर्ट अट्याक' भएको छ ।

केही दिनदेखि विराट नर्सिङ होममा उपचार गराइरहेका कृष्णदासलाई हर्ट अट्याक भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आज जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली कृष्णदासलाई पक्राउ गर्न अस्पताल पुगेको थियो । तर, कृष्णदासलाई अर्टअट्याक भएको भन्दै भेन्टिलेटरमा राखिएको थाह पाएपछि प्रहरी टोली अलमलमा छ ।

डिएसपी शर्माले दिएको जानकारी अनुसार सिद्धबाबाको हाल आइसियुमा उपचार भइरहेको छ । उनलाई आइसियुमा नै प्रहरी निगरानीमा राखिएको छ । ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको छ, त्यसैले पक्राउ गर्न आएको हो,’उनले भने,‘तर हर्ट अट्याक भएर आइसियुमा उपचार भइरहेको रहेछ, आइसियुबाहिर प्रहरी निगरानीमा राखिएको छ ।’ उनले आइसियुबाट निस्कने बितिकै पक्राउ गरिने बताए ।