धरान: धरानको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार धरानमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडा नं १६ को मतगणना सकिदा नेपाली कांग्रेसले ४ सय २४ मतले अग्रता लिएको छ । वडा नं १६ मा कांग्रेसले २ हजार ३ सय ४१ मत पाएको छ भने नेकपाले १ हजार ८ सय ६० मत पाएको छ । अहिलेसम्म नेपाली कांग्रेसको पाएको कुल मत ६ हजार ८ सय ५८ मत छ भने नेकपाको मत ६ हजार ४ सय ३४ मत छ ।

कम्युनिष्ट गढकोरुपमा रहेको धरानमा उपनिर्वाचनको मतपरिणामले भने नेकपालाई गम्भीर धक्का लागेको छ । अघिल्लो स्थानीयतह निर्वाचनमा वडामा नेकपाको बर्चश्व भएको वडामा पनि मतपरिणाम नेकपाको पक्षमा छैन । अहिलेसम्म वडा नं २०, १९, १८, १७ र १६ वडाको मतगणना सम्पन्न भइसकेको छ ।अहिलेसम्म मतगणना सकिएको वडाहरुमध्ये २०७४ को स्थानीयतह निर्वाचनमा १८ वडा मात्र कांग्रेसले जितेको वडा हो । अहिलेको मतपरिणाम अनुसार नेकपाको गढमा कांग्रेसले अग्रता लिएको छ ।

नेकपाले वडा नं २० मा ९ सय ६७, वडा नं १९ मा ८ सय १३, वडा नं १८ मा ५ सय २९, वडा नं १७ मा २ हजार २ सय ६५ र वडा नं १६ मा १ हजार ८ सय ६० मत पाएको छ । यस्तै, नेपाली कांग्रेसले वडा नं २० मा ७ सय ३४, वडा नं १९ मा ८ सय ७९, वडा नं १८ मा ६ सय ७९, वडा नं १७ मा २ हजार २ सय २५ र वडा नं १६ मा २ हजार ३ सय ४१ मत पाएको छ ।