इटहरी : आफ्नै महिला अनुयायी माथि बलात्कार गरेको अभियोग लागेको सिद्धबाबा उर्फ कृष्णदास गिरीलाई शुक्रबार जिल्ला अदालत इनरुवाले पक्राउ पूर्जी जारी गरेपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता (डीएसपी) बिनोद शर्माको नेतृत्वमा आईतबार गिरीलाई अदालतमा हाजिर गराउँनका लागि लिन गएको भएपनि उनी स्वास्थ्यमा एक्कासी समस्या भएको भन्दै आईसियुमा भर्ना भए । प्रबक्ता शर्माका अनुसार शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको भएपनि आईतबार पक्राउ गर्नका लागि बिराटनगरको बिराट नर्सिङ होममा गएको भएपनि गिरीको एक्कासी श्वासप्रश्वास बढेकाले आइसियुमा भर्ना गरिएको हो । अदालते शुक्रबार अनुमति लिएको भएपनि २४ घण्टाभित्रमा म्याद थप गरिसक्नुपर्नेमा उनी आइसियुमा भर्ना भएपछि प्रहरी अलमल्लमा परेको छ । उनी अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा रहेका छन् । प्राचीन हरिद्धारकोरुपमा प्रख्यात सुनसरीको चतराधामस्थित सिद्धबाबा कृष्णदास महाराजमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको गम्भीर आरोप लागेको थियो । पीडित महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । उनीमाथि ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ रहेको छ ।

को हुन् कृष्णदास ?

सोलुखुम्बुको जुबुमा १९ फाल्गुण २०३१ म जन्मिएका गिरी सुनसरी–मोरङ सिँचाई आयोगको सुनसरीको चतरामा १३ बिगाहा जग्गा कब्जा गरेर रातारात ८ करोड लागतको १ सय २८ कोठे भवन निर्माण गरेर राष्ट्रपति विद्यादेवी भण्डारी, मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराएपछि उनले आँफू सिद्धबाबा भएको दाबी गर्दै आएका थिए । यसअघि उक्त उद्धघाटन कार्यक्रममा मुख्यमन्त्री राईले आँफू सिद्धबाबा बाट प्रभावित भएको बताएका थिए । उनले उक्त भवन उद्धघाटन गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै रातारात उनको सकारात्मक चर्चा भयो ।

भारतीय हिन्दु धर्मावलम्बीका गुरुहरूसँग नियमित सम्पर्कमा रहेर कहिले निःशुल्क स्वास्थ्य शिविर त कहिले तारक ब्रम्ह यज्ञ गर्दै आएका गिरीले करिब चार वर्षअघि सुनसरीको इटहरीकी एक बालिकालाई आश्रममा लगेर पढाउँछु भनेर यौन दुव्र्यवहार गरेको चर्चा समेत चलेको थियो । यसअघि पनि गिरीसँग अनेक युवतीहरूको नाम जोडिँदै आएको घटना भने नौलो रुपमा छैन । हालै गिरीविरुद्ध बलात्कार आरोप लगाउने महिला पनि करिब पाच–सात वर्ष अघिदेखि अनुयायीका रूपमा रहेको बुझिएको छ । त्यस्तै, शनिबार मात्र गिरीले पीडित महिलालाई आँफूले गल्ती गरेको भएपनि उजुरी फिर्ता लिनका लागि आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । अडियो रेकर्डमा उनले भनेका छन्, ‘मबाट गल्ती भयो, उजुरी फिर्ता लिइदेऊ माफ गरिदेऊ ।’ ०६८ सालमा उनले १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पुर्याएको घटना समेत बाहिरिएको थियो । धर्मका नाममा उच्च अहोदाका राजनीतिक व्यक्तिहरुलाई प्रभावमा पार्न सफल भएका गिरी यस अघि बिभिन्न काण्डमा मुछिएका छन् ।