धरान: धरानको मेयर पदको लागि भएको उपनिर्वाचन मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको फराकिलो मतान्तर कायमै छ ।

पाँच वडाको मतगणना बाँकी रहदा कांग्रेस उम्मेदवार राई नेकपाको उम्मेदवार प्रकाश राई भन्दा १३०३ मतले अगाडि छन् । अब वडा नं १,२,३,५ र ७ वडाको मात्र गणना बाँकी रहदा कांग्रेस उम्मेदवार राई विजयोन्मुख छन् । खसेको मतमध्ये ४४ हजार ८ सय ८९ मत गणना भइसक्दा कांग्रेसले २१ हजार ३ सय ११ मत पाएको छ भने नेकपाले २० हजार ८ मत पाएको छ ।

यस्तै, तेस्रो स्थानमा दापसहितको खुकुरी चुनाव चिह्न भएका संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर इजम रहेका छन् । उनको मत १ हजार ८ रहेको छ भने चौथो स्थानमा रहेको समाजवादी पार्टीले ६ सय ५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३ सय ८३ मत ल्याएका छन् भने डा.अमृतकुमार राईले १ सय ८२ मत ल्याएका छन् ।