धरान: आफ्नै महिला अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदास गिरी पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान विराट नर्सिङ होमबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइसकेको र केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको भनाई छ । बलात्कारको जाहेरी दर्ता भएपछि कृष्णदासलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपनि कृष्णदास स्वास्थ्य उपचार गर्न नर्सिङ होममा थिए ।

हिजो आइतबार जिल्ला प्रहरीको टोली पक्राउ गर्न नर्सिङ होम पुगेपनि हर्ट अट्याक भएको भन्दै आइसियुमा रहेको थाह पाएपछि पक्राउ परेका थिएनन् । आज भने उनको स्वास्थ्यमा सुधार भएको थाह पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो । सुनसरीको चतराधामस्थित आश्रम बनाएर योगविज्ञानको प्रशिक्षण दिने गरेका थिए । उनी आफुलाई आर्युवेद विज्ञानको जानकार बताउने गर्थे ।