धरान: मंसिर १४ गतेको भएको उपनिर्वाचनको मतपरिणाम आइसकेको छ । लालकिल्ला भनिएको धरानमा कांग्रेसका तिलक राई मेयरमा विजयी भइसकेका छन् ।

नवनिर्वाचित मेयर राईले २६ हजार ७ सय ९ मत ल्याएर भने निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । यो मतपरिणामले नेकपाका नेता, कार्यकर्ताहरु स्तब्ध छन् । यो नतिजा स्वयम कांग्रेसलाई पनि अनपेक्षित झै रह्यो । अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता नहुै एमाले एक्लैले मेयर, उपमेयरसहित १४ वडा जितेको थियो । माओवादीले एउटा वडा जितेको थियो भने कांग्रेस ५ वडामा सिमित थियो ।

उपनिर्वाचनको नतिजाले अघिल्लो चुनावमा बहुमतले बर्चश्व कायम गरेको वडाहरुमा नै नेकपाको जनमत खस्किएको देखिएको छ । अघिल्लो चुनावमा नेकपाले जितेको वडाहरु १९, १६, १३, १२, ११, १०, ९, ८, ७ र ३ वडामा कांग्रेसले लिड गर्यो । कम्युनिष्टहरुको भोट बैंक भएको भनिएको वडा नं १७ मा मात्र ४० भोटले नेकपाले लिड गर्यो भने वडा नं १५ मा २ सय ६८ मत मात्र नेकपाले लिड गर्यो ।

परिवर्तनको नारा

1

नेकपाको हार्नुको कारणबारे पार्टीले समिक्षा गर्न बाँकी नै छ । तर, सामाजिक सञ्जालहरुमा अहिले नेकपा हार्नुको कारणहरुबारे थुप्रै प्रतिक्रिया र टिप्पणीहरुले भरिएएका छन् । यसपाली नेपाली कांग्रेसले ‘परिवर्तनको पक्षमा भोट’ भन्ने चुनावी नारा ल्याएको थियो । यस्तो नारा प्रायः कम्युनिष्ट पार्टीको हुने गथ्र्यो ।

तर, धरानमा कांग्रेसले आफुलाई परिवर्तनकारी शक्तिकोरुपमा जनतासमक्ष प्रचार गर्यो, र कम्युनिष्ट पार्टी यथास्थितिवादी शक्ति भएको प्रचार गर्न सफल भयो । प्रत्येक चुनाव जितेर पनि कम्युनिष्टहरुले धरानको विकासको लागि केही गर्न नसकेकोले यसपटक मत परिवर्तन गरेर कांग्रेसको स्वाद लिन धरानका नेताहरुदेखि केन्द्रीय नेताहरुले पनि जनतालाई आग्रह गरे । मतपरिणामले कांग्रेसको यो रणनीति सफल भएका भन्ने देखाउछ ।

जनप्रतिनिधिसँगको असन्तुष्टी

6

महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिकशास्त्रका सहप्रध्यापक डा.अमृतकुमार श्रेष्ठको धारणा भने अलिक फरक छ । उनी धरानका जनताले परिवर्तन रोजेको नभै सत्तामा रहेका जनप्रतिनिधिहरुसँगको असन्तुष्टी र आक्रोशलाई आफ्नो मतमार्फत प्रकट गरेको बताउँछन् । ‘जनताले कांग्रेसको सरकार पनि नदेखेका होइनन्, त्यसैले यो मतपरिणामलाई परिवर्तनको पक्षमा धरानको जनताले मत दिएको हो भनेर भनिहाल्ने ठाउँ छैन,’श्रेष्ठले भने,‘बरु सत्तामा बसेका जनप्रतिनिधिसँगको असन्तुष्टी र आक्रोशलाई जनताले मतमार्फत प्रकट गरेको चै हो । यो परिणामले सत्ता पक्षप्रति जनता असन्तुष्ट रहेछन् भन्ने देखाउछ ।’

सहप्रध्यापक डा. श्रेष्ठको भनाई र धरानका जनप्रतिनिधिको २ बर्षको कार्यशैली हेर्दा मेल खान्छ । झण्डै डेढ बर्ष धरान उपमहानगर नेतृत्व(मेयर)विहिन रहदा धेरै आलोचना खेप्नु परेको थियो । जनप्रतिनिधिहरुले आफुलाई जनताको सेवक भन्दा पनि प्रशासक ठान्ने र सोही अनुसारको व्यवहार प्रर्दशनले जनतासँग दुरी बढेको थियो । जनप्रतिनिधिहरुले जनताको समस्या समाधानमा भन्दा पनि सेवासुविधा, ठेक्काको सेटिङ, अपारदर्शि कामलगायतले जनता रुष्ट हुदै गएका थिए ।

त्यसमाथि, अव्यवहारिक तथा अस्वभाविकरुपमा भएको कर वृद्धिले जनता आक्रोशित भए भने आन्दोलन गरेर कर समायोजन गराएको जस धरानमा नेपाली कांग्रेसले लियो । यस्तै, जनप्रतिनिधिहरु जनताले तिरेको करबाट देश, विदेश घुम्ने, निर्णयहरु पारदर्शी नगर्नेलगायतले पनि धेरै आलोचित भए । स्थानीयतहमा निवार्चित भएपछि शुरु भएको नगर गौरवको आयोजनाहरु अढाई बर्ष बितिसक्दा पनि अलपत्र हुनु, खानेपानी आयोजनालाई पुर्ण गर्न नसक्नु जस्ता मुद्दाहरुले जनमत जनप्रतिनिधि र नेकपाको पक्षमा थिएन । जनप्रतिनिधिहरु कतिसम्म आलोचित थिए भने नेकपाको चुनावी घरदैलो अभियानमा कार्यवाहक मेयर, वडाअध्यक्षहरुलाई सहभागी नगराउन चर्को दबाब थियो ।

एकता प्रक्रियामा ढिलाई, कांग्रेस भने एकढिक्का

congress-1

नेकपा हार्नुको कारण धरानमा जनप्रतिनिधिप्रतिको असन्तुष्टी मात्र होइन । पार्टी एकीकरण प्रक्रिया ढिलो हुँदा झण्डै २ बर्षसम्म कमिटिविहिन अवस्थामा रह्यो । पार्टीको गतिविधिहरु शुन्य अवस्थामा पुगेपछि कार्यकर्ता, शुभेच्छुकहरुसँग नेकपाको दुरी बढ्यो । नेकपा सांगठनिकरुपमा छिन्नभिन्न अवस्थामा पुगेको बेला नेपाली कांग्रेसले भने देशव्यापी जागरण अभियान शुरु गरेको थियो । धरानमा पनि दुई चरणको जागरण अभियान गरेर उसले पार्टी, संगठन मजबुद गर्यो भने नेता, कार्यकर्ताहरुलाई संगठित गर्यो ।

कांग्रेसले धरानको उपनिर्वाचनलाई कति महत्व दिएको थियो भने निर्वाचनको बेला शीर्षस्थ तथा केन्द्रीय नेताहरु दिनहुँ धरान आएका थिए । जागरण अभियानकै बेलादेखि केन्द्रीय नेता महेश आचार्य धरानमा नै थिए । उनी निर्वाचनको पनि कमाण्डर थिए । धरानलाई नजिकबाट बुझेका आचार्य र केन्द्रीय नेताहरुको उपस्थितिले विभिन्न गुट, उपगुटमा विभाजित कांग्रेसका नेता, कार्यकर्ताहरुलाई एकढिक्का बनायो ।

कांग्रेस एकताको भावनाले वलियो हुँदै गर्दा नेकपामा भने भावनात्मकरुपमा एकीकरण हुनै सकेको थिएन । पुर्वएमाले र पुर्वमाओवादीको मनोदशाबाट नेता, कार्यकर्ताहरु उम्किनै सकेनन् । यसको प्रभाव निर्वाचनमा परिचालन हुदा पनि पर्यो । असन्तुष्ट नेता, कार्यकर्ताहरु परिचालित हुन सकेनन् । अन्र्तघातको खतरा थियो । उम्मेदवार चयन प्रक्रियामा पुर्वएमाले खेमाको माधव नेपाल गुटबाट ओली गुटलाई निषेध गर्ने शैलीले पनि नेकपाभित्रको असन्तुष्टीलाई छताछुल्ल बनाएको थियो ।

नेकपा पार्टीको आन्तरिक विवादमा रुमल्लिरहदा कांग्रेस भने सर्वसम्मत उम्मेदवार चयन गरेर जनताको घरदैलोमा पुगिसकेको थियो । कम्युनिष्टको भोट बैंक मानिएको सुकुम्बासी बस्ती र न्युट्रल मतदातालाई आफ्नो पक्षमा तान्न कांग्रेसका केन्द्रदेखि स्थानीय नेता, कार्यकर्ताहरुले ठुलो मेहनत गरे । प्रभावशाली नेता शेखर कोइराला आफै धरानको सुकुम्बासी बस्तीमा पुगेर अन्र्तक्रिया गरे, कांग्रेसको लागि भोट मागे । त्यसको ठिक विपरीत नेकपा भने २०७४ सालको चुनावको नतिजा हिसाब गर्दै कम्तीमा ८ देखि १० हजार मतान्तरले जित्ने आत्मरतिमा रमाइरहे । नेताहरु घरदैलोमा त हिडे, तर जनतासँग अन्तरसंवाद गर्न पुगेनन् ।

समाजवादीको भोट कांग्रेसलाई

4

नेकपाको हारमा केन्द्रीय सत्ता सहयात्री दल समाजवादी पार्टीको भुमिका पनि अहंम छ । कांग्रेससँग घोषितरुपमा चुनावी तालमेल नगरेपनि समाजवादीको भोट कांग्रेसलाई गएको देखिन्छ । समाजवादीले धरानमा आफ्नो जनमत कति हो भन्ने थाह पाउन एक्लै उम्मेदवारी दिएको थियो । समाजवादीले उम्मेदवारी दिएपनि भित्रभित्रै नेकपालाई हराउन कांग्रेससँग गोप्य तालमेल गर्यो ।

धरानमा समाजवादीको भोट कम्तीमा पनि ४ हजार भएको अनुमान थियो । तर, मतपरिणाम अनुसार समाजवादीले मात्र ७ सय ५५ मत पाएको छ । समाजवादीको भोट कांग्रेसमा गयो । समाजवादी भन्दा बढी भोट धरानमा कमजोर संगठन भएको संघीय लिम्बुवान मञ्चले १ हजार १ सय ३१ ल्यायो । कांग्रेसले खम्बुवान पार्टीसँग घोषितरुपमा नै सहकार्य गरेको थियो । नेकपाका नेताहरुलेसमाजवादी पार्टी र साना दलसँग कांग्रेसको गोप्य तालमेल हुनेतर्फ ध्यान दिन सकेन ।

अन्य दलहरुले आफुलाई सघाउने संकेत मतदान अघि कांग्रेसका उम्मेदवार राईले पटक पटक गरेका थिए । उनले मनोनयन दर्ताकै दिन पनि अन्य दलले सहयोग गर्नेबारे उनले भनेका थिए,‘उम्मेदवारी दर्ता गर्दैमा केही हुन्न, मुख्य कुरा भोट दिने हो ।’ निवार्चित भइसकेपछि पनि उनले प्रष्ट शब्दमा भने,‘मैले कांग्रेसको भोटले मात्र जितेको होइन, सबै दलको भोट पाएर जितेको हुँ ।’

समीक्षा गरेर सच्चिन्छौं: नेकपा सचिव

final-election

नेकपा जिल्ला कमिटि सचिव तथा उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेत पार्टी एकीकरण प्रक्रिया ढिला हुँदा २ बर्षसम्म तल्लो तहमा कमिटिविहिन अवस्था हुनुले पनि चुनावी परिणाममा असर पुगेको स्वीकार गर्छन् । ‘२ बर्षसम्म पार्टी, संगठनमा भ्याकुम थियो, त्यसबेला कांग्रेसले खेल्ने अवसर पायो । हामी डेढ महिना अघि मात्र अभियानमा जुट्यौं,’उनले भने,‘चुनावी परिणामको समिक्षा गछौं, हारको कारण र कमीकमजोरीहरु खोतल्छौं र सच्चिएर अघि बढ्छौ ।’

नेपाल जस्तो तेस्रो मुलुकमा जनताको चाहना, आकांक्षाहरु अत्यधिक हुने र राज्यले चाडै पुरा गर्न नसक्ने हुँदा जनताको मत विपक्षतर्फ ढल्कने गरेको नेता बस्नेत बताउँछन् । ‘तेस्रो मुलुकमा राज्यप्रति अत्यधिक जनअपेक्षा हुन्छ, तर पुरा गर्न नसक्दा विपक्षीले पो गर्छ कि भन्ने भावना जाग्छ, र जनमत त्यसैअनुसार जान्छ,’उनले भने,‘अहिले धरानको परिणामले पनि त्यही देखाउछ ।’