धरान: प्रहरीले धरानको वडा नं ५ देउरालीमा आतंक मच्चाउने पाँच जनालाई धारिलो हतियारसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार साँझ ५ बजे देउरालीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान वडा नं. १५ का १९ बर्षीय गोपाल तामाङ, २३ बर्षीय दिप्सन भन्ने दिपेश राई, वडा नं ४ का २२ बर्षीय बिशाल राई, वडा नं ५ का २० बर्षीय लोकेन्द्र बि.क. र वडा १५ का १९ बर्षीय बिरेन राई रहेका छन् ।

उनीहरुको साथबाट २ वटा तरवार, एउटा खुकुरी र २ वटा छुरी पनि वरामद भएको छ । देउरालीमा सडकमा नै धारिलो हातहतियार बोकेर स्थानीयलाई आतंकित बनाइरहहेको अवस्थामा ती युवाहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी अभद्र ब्यवहार मुद्दामा अनुसन्धान भईरहेको पनि डिएसपी न्यौपानेले बताए ।