सुर्खेत : देशमा अहिले १३ औं दक्षिण एसियाली खेलकुल (साग) सञ्चालन भइरहेको छ । एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी हुन् ।

धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पुर्याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ । घरखर्च चलाउन र छोराछोरी पढाउन तुलसाका बुवा भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन् । उनी ४५ वर्ष पुगे । पाखुराको बलमा कमाउने उमेर पनि सकिनै थाल्यो । तुलसाकी आमा पद्मा मुटुरोगी छिन् । ‘अब तिमीहरुलाई पढाउने र आमाबुवा पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ,’ कतार जानु दुई दिनअघि काठमाडौंबाट बहिनी गौरीलाई फोन गरी तुलसाले भनेकी थिइन्, ‘म टाढा हुनेछु, आमाको ख्याल गर्नु ।’ विदेश उडेको दिन मंसिर १३ गते बिहान पनि तुलसाले आमालाई फोन गरिन् । ‘केही दिन सम्पर्क हुँदैन होला,’ छोटो कुराकानीमा तुलसाले भनिन्, ‘आमा, आफ्नो ख्याल गर्नु, केही समस्या परे बहिनीलाई खबर गर्नु ।’ भोलिपल्टै उनी साग छोडेर विदेश उडेको खबर आउन थाले । नागरिक दैनिकबाट