झापा: संघीय संसदकी उपसभामुख डा. शिवकुमारी तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागि परेको बताएकी छिन् ।

जेष्ठ नागरिकको हक अधिकारलाई समेटेर विधेयक ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउँदै जेष्ठ नागरिकको हक अधिकार संविधान, ऐन नियममा भएपनि जेष्ठ नागरिकलाई खुसी दिने पहिलो ठाउँ घर भएकाले सबै घरका जेष्ठ नागरिकको खुसीका लागि छोराछोरीको सबै भन्दा ठूलो कर्तव्य र भूमिका हुने हुँदा सोहि अनुरुपको भूमिका निर्वाह गर्न अनुरोध गरिन् । जेष्ठ नागरिक तथा अपाङ भेटघाट चौतारी बुद्धशान्ति–१ झापाले शुक्रबार (आज) बाट सुरु गरेको ब्रम्हाण्ड महापुराण तथा जेष्ठ स्तम्भ अनावरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपसभामुखले नेपालको संविधानमा नै जेष्ठ नागरिकले सम्मान पूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको जानकारी गराउँदै त्यसलाई थप व्यवस्थित बनाउन ऐन नियम निर्माण भईरहेको जानकारी गराइन् ।

उपसभामुख तुम्बाहाम्फेले कतिपय घरपरिवारमा जेष्ठ नागरिकले दुख पाइरहेको जानकारी पाउँदा आफूलाई मन दुखेर आउने बताउँदै अहिले आफूले गर्ने व्यवहार पछि आफूलाई छोराछोरीले गर्ने हुँदा जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखिन् । उनले जेष्ठ नागरिकका क्षेत्रमा काम गर्ने संघसंस्थाले जेष्ठ नागरिकका ज्ञान सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नेगरीका कार्यक्रम तय गरेर सोहि अनुरुप चल्न पनि अनुरोध गरेकी छिन् । उनले जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीलाई आप्mनो तर्फबाट सहयोगको प्रतिवद्धता पनि व्यक्त गरिन् । उनले प्रत्येक शनिबार चौतारीमा भेला हुने जेष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्न प्रयास गर्ने आस्वासन पनि दिइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि शंकराचार्य साङबेद गुरुकुल साधुटारका संस्थापक पं. केदारनाथ खतिवडा, झापा क्षेत्र नम्बर २ की संघीय सांसद पवित्रा निरौला खरेल, जेष्ठ नागरिक संघ झापाका उपाध्यक्ष हरि ओली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, पं श्रीकृष्ण चैतन्य शास्त्री जी महाराज, सहारा नेपालका दिलीप शर्मा, जेष्ठ नागरिक संघ झापाका कोषाध्यक्ष इश्वरीराज तिम्सिना, सामाजिक व्यक्तित्व दिनानाथ ढकाल, बुधबारे गाविसका पूर्व अध्यक्ष खडानन्द वाग्ले, सामाजिक व्यक्तित्व महाविर अग्रवाल, नेकपा बुद्धशान्ति अध्यक्ष टिका पाठक, बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल लगायतको आतिथ्यता थियो । कार्यक्रममा सहारा नेपाल, सामाजिक व्यक्तित्व महाविर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

पुराण आयोजक मूल समिति संयोजक रामप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रममा नन्द कुमार तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने जेष्ठ महिला र पुरुषको स्तम्भ रहेको जेष्ठ स्तम्भको पनि उद्घाटन गरिएको थियो । बुद्धशान्ति गाउँपालिका, वडा नम्बर १, जेष्ठनागरिक तथा अपाङ्ग भेटघाट चौतारी, स्थानीयको सकृयतामा जेष्ठ नागरिक स्तम्भ निर्माण गरिएको जेष्ठ नागरिक स्तम्भ निर्माण समितिका अध्यक्ष विभिषण वाग्लेले जनाएका छन् ।