हेटौंडा: नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई बेलैमा सच्चिन सचेत गराएको बताएका छन् ।

जितेको ठाउँ हारेपछि अब दम्भ छोडेर सच्चिने बाटोमा लाग्न जनताले निर्देशन दिएको बुझ्नुपर्ने नेता नेपालको भनाइ छ । धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस गर है अहंकार नगर भन्ने सन्देश दिएको उनले बताए । पोखरा र दाङ जितेका छौं भनेर कमजोरी सुधार्नतिर नलागे आउँदा दिनमा अझ कमजोर बनिने नेता नेपालले बताए ।

मकवानपुरको मनहरि गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टी कमिटी भद्दा भएको टिप्पणी गरे । उनले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तहसम्म कमिटीहरु भद्दा बनेको बताएका हुन् । यस्ता कमिटीबाट पार्टी चलायमान हुन नसक्ने उनको तर्क छ ।

कम्युनिष्ट पार्टीको विरोध गर्नेहरुलाई पार्टीले ठुला पदमा पु¥याएको भन्दै नेता नेपालले नातावाद र कृपावाद तोड्न जरुरी रहेको धारणा राखे । अब केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेकाले उपनिर्वाचनको समीक्षा र पार्टी एकताको सबै काम टुङ्गिने विश्वास व्यक्त गरे ।