बिराटनगर: हिजो शनिवार सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

शनिबार दिउँसो साढे १ बजेको समयमा सप्तरीबाट रामधुनीतर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक बसबाट लडेर गम्भीर घाइते भएका थिए । सप्तरीको सप्तकोशी नगरपालिका १ का ४५ बर्षीय सहचालक सन्तोष गुप्ता लडेर घाइते भभएपछि उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका १३ स्थित खनारमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा मोटरसाइकल ठोक्किएको थियो ।
प्रहरीका अनुसार ईटहरीबाट बिराटनगरतर्फ जादै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी ११ का २५ बर्षीय अशोक चौधरी गम्भिर घाईते भएका थिए । यस्तै, ट्रक चालक सिन्धुली ६ का ३१ बर्षीय गंगा प्रसाद नेपाल समेत घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएको थियो । उपचारको क्रममा राती साढे १० बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी झापाको कन्काई नगरपालिका ७ बिरिङखोला पुलस्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शनिबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका थिए । घाइते ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मे११प २९२८ नम्बरको मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो । अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।