इटहरी: शैक्षिक संस्थाको परिसरमा धर्मको प्रचार गरिएकोमा विभिन्न विद्यार्थी संगठनहरुले आपत्ति प्रकट गरेका छन् ।

आज सोमबार एक बिज्ञप्ती जारी गर्दै बिद्यार्थीं नेताहरुले क्याम्पस हातामा धर्म प्रचार गर्ने कार्यक्रम आयोजना भएकोमा गम्भीर ध्यानाकर्षण जनाउदै आपत्ति प्रकट गरेका हुन् । साथै, उनीहरुले क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्यवस्थापन समिति अध्यक्ष रेवतीरवण भण्डारी, सहायक क्याम्पस प्रमुखहरु गीता अधिकारी, युवराज सिटौला, टोलनाथ काफ्लेलाई क्याम्पसमा निषेध गरिएको पनि जनाएका छन् । ‘क्याम्पसको स्वामित्वमा रहेको सम्पत्तिको दुरुपयोग गरि क्याम्पस प्रशासनले एकलौटी ढङ्गबाट क्याम्पसको शैक्षिक वातावरणलाई असर पर्ने गरी गरिएको निर्णय र त्यस पश्चात उत्पन्न समस्याप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।

क्याम्पस हाताभित्र क्रिश्चियन धर्मावलम्बीहरुले आयोजना गरेको बृहत्त ख्रिष्टमस महोत्सव कार्यक्रम आयोजना गर्न नदिनु भनि एकहप्ता अगाडि नै मौखिक रुपमा जानकारी गराउँदा पनि क्याम्पस प्रशासनले सुनुवाई नगरेको विद्यार्थी नेताहले जनाएका छन् । क्याम्पस प्रशासनले आयोजकसँग दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म कार्यक्रम सञ्चालन गर्ने सहमति दिएको थियो । तर त्यो सहमति भङ्ग गरी आयोजकले क्याम्पसमा पठनपाठन भईरहेको समय १२ः०० बज्नु अगाडी नै कार्यक्रम शुरु गरी प्रत्यक्षरुपमा विद्यार्थीहरुको पठनपाठनमा असर पु¥याएकोे थियो । धार्मिक कार्यक्रमले विद्यार्थीहरुको पढाईलाई असर पु¥याएको प्रति विद्यार्थी संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् ।

itri-campus1

आईतबार इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा अध्ययनलाई नै प्रभावित पार्ने गरी ईसाइ समाजले कार्यक्रम आयोजना गरेको थियो । मुख्यमन्त्री शेरधन राई स्वयम् प्रमुख अतिथि रहेको कार्यक्रममा शैक्षिक गतिबिधि प्रभावित भएको भन्दै विद्यार्थी नेताहरुले बिरोध गरेका थिए । विरोध जनाउने नेविसंघ सभापति सहदेव काफ्ले, अनेरास्ववियू अध्यक्ष किरण बिष्ट, अखिल क्रान्तिकारी अध्यक्ष सागर धमला, नयाँ शक्तिका संयोजक प्रबिण दाहाल, नेविसंघका उपसभापति संगीत सन्तोष, सह–सचिव सोमनाथ घिमिरे लगायतलाई प्रहरीले आईतबार क्याम्पस हाताबाटै पक्राउ समेत गरेको थियो ।

‘शैक्षिक संस्था शान्ति क्षेत्र हो, क्याम्पस प्रमुखलाई के काम गर्न हुन्छ हुँदैन भनेर हामीले जानकारी गराएका छौँ,’ नेविसंघ सभापति सहदेव काफ्लेले भने, ‘धर्मको बारेमा प्रचार गर्नु उचित भएन ।’ उनले शैक्षिक संस्था बिथोल्ने गरी कुनै पनि धर्म, राजनीतिका कार्यक्रम गर्न नहुँने तर्क गरे । समाजवादी विद्यार्थी फोरमका अध्यक्ष चन्द्र किराँतीले आँफूले क्रिश्चियन धर्मको बारेमा बिरोध गरेको नभई शैक्षिक गतिबिधि बिथोलेकोमा बिरोध गरेको बताए । उनले भने, ‘हामीले कुनै पनि धर्मको बिरोध गरेका हैनौँ, क्याम्पस प्रशासनको हाताभित्र धर्मको कार्यक्रम किन गरियो ?’ अनेरास्ववियूका अध्यक्ष किरण बिष्टले कुनै पनि बिद्यार्थी संगठनको अनुमति बिना नै धर्मको कार्यक्रम गर्ने र प्रहरीको बल प्रयोग गरी पक्राउ गरिनु खेदजनक रहेको तर्क गरे ।