धरान: नेपाल भ्रमण बर्ष २०२० को प्रचार तथा प्रदेश नं १ को पर्यटनको विकास गर्ने उद्देश्यले धरानबाटै हेलिकप्टर टुर प्याकेज शुरुवात भएको छ ।

माउण्टेन हेलिकप्टर्स प्रालि र धरान होलिडेज कम्पनीको सहकार्यमा धरानबाट हेलिकप्टर टुर प्याकेज शुरु गरेको हो । माउण्टेन हेलिकप्टर्सले हेलिकप्टर उपलब्ध गराएको छ भने धरान होलिडेजले व्यवस्थापन गर्नेछ । धरानका चार जना पर्यटन व्यवसायी कुन्दन श्रेष्ठ, अमृत मानन्धर, त्रिरत्न अधिकारी र अजय खनाल मिलेर धरान होलिडेज कम्पनी स्थापना गरेका हुन् । हेलि टुर प्याकेजमा प्रदेश नं १ को प्रसिद्ध धार्मिकस्थल पाथीभारा र हलेसी महादेवको प्याकेज समेटिएको छ । यस्तै, इच्छुक पर्यटकहरुलाई माउण्टेन हेलिकप्टर्सले सिता एयरसँग सहकार्य गरेर विराटनगरबाट माउण्टेन फ्लाइट पनि गराउने माउण्टेन हेलिकप्टर्सका महाप्रबन्धक दिलबहादुर ओलीले जानकारी दिए ।

heli-tour

महाप्रबन्धक ओलीका अनुसार हलेसी र पाथीभारा दर्शनको लागि प्रतिव्यक्ति ३४ हजार शुल्क लाग्नेछ । एउटा ट्रिपमा हेलिकप्टरमा ५ जना लगिनेछ । पाथीभारा र हलेसी दर्शनबाहेक धरानको साइटसिन प्याकेज पनि राखिएको उनले बताए । ‘हामीले एक महिना अघि नै पुर्वको बजार बुझ्यौं । ट्रालभ एजेन्सीहरुसँग छलफल गर्यौं, र ३ महिनासम्मको लागि यो टुर प्याकेज ल्याएका छौं,’महाप्रबन्धक ओलीले भने,‘धरानलाई केन्द्रविन्दु बनाएर यो प्याकेज ल्याएका छौं । मौषम प्रतिकुल नहुदासम्म फ्रेबुअरी महिनासम्म यो प्याकेज चलाउछौं ।’

साइटसिनको लागि प्रतिव्यक्ति ५ हजार तोकिएको छ । टुर प्याकेजबाहेक विरामीहरुको लागि पनि हेलिकप्टरको सेवा उपलब्ध गराउने धरान होलिडेजका सञ्चालकहरुले बताएका छन् । पाथीभारा, हलेसी र साइटसिनबाहेक पनि पर्यटकहरुले इच्छा गरेको गन्तव्यमा लैजान पनि सकिने सञ्चालकहरुको भनाई छ । धरान होलिडेजका सञ्चालकमध्ये एक त्रिरत्न अधिकारीले हेलि टुर प्याकेजबारे प्रदेश १ का सबै पर्यटन व्यवासयीहरुलाई जानकारी गराउने बताए । ‘प्रदेश १ को पर्यटनलाई ठुलो टेवा पुग्छ । माउण्टेन फ्लाइट गर्न काठमाण्डौं नै पुग्नुपदैन । विरामी बोक्नलाई पनि अब प्रदेश १ मा यहीबाट सेवा दिन्छौं,’अधिकारीले भने ।

heli-tour2