बिराटनगर: झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यसैगरी गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका ५ मा डेरा गरी बस्ने २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । तामाङलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यस्तै, विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नं. ढाटबाट विराटनगर ६ का २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको जम्फरको टोपीबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ब्राउन सुगर ओसारपसारमा अन्य २ जनाको समेत संग्लग्नता रहेको खुलेको थियो । प्रहरीले विराटनगर ६ का २६ बर्षीय अयुव आलम र केराबारी गाउँपालिका १० का ४१ बर्षीय तेज बहादुर लिम्बु पनि पक्राउ परेका छन् । उनीहरुलाई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।