धरान: नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ ।

सुनसरी जिल्ला अदालतले आज पत्रकार काफ्लेमाथि आक्रमण गरी अंगभंग बनाएको आरोपमा पक्राउ परेका ४ जनालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले काफ्लेले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । ती मध्ये ४ जना बिहिबारै पक्राउ परेका थिए भने २ जना पक्राउ गर्न बाँकी छ । आज अदालतले ती २ जनालाई पनि पक्राउ गर्ने अनुमति दिएको छ । ‘अदालतबाट पक्राउ पुर्जी आएको छ, उनीहरुलाई पनि पक्राउ गछौं,’डिएसपी न्यौपानेले भने ।

काफ्लेलाई आक्रमण गरेको आरोपमा धरान १ का नरेश साहसँगै संघर्ष समितिका अध्यक्ष धरान १५ का तुलसीप्रसाद बिक, धरान ४ का दिपक राई र धरान ४ कै संगीता राईलाई पक्राउ गरेको छ । सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले बिहिबार दिउँसो समाचार संकलन गर्न ढिला गरेको भन्दै काफ्लेलाई आक्रमण गरेका थिए । उनको नाक भाँच्चिएको छ भने देब्रे आँखामा गम्भीर चोट लागेको छ । काफेलको आँखाको आँशु आउने नली(नशा) छिनेको थियो । उनको आज विराटनगरमा अप्रेशन भएको छ । नशामा कृत्रिम नली राखिएको र ३ महिनापछि त्यसलाई निकाल्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

पत्रकार काफ्ले न्युज२४ टेलिभिजनमा कार्यरत छन् । सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बिकले सहकारीका वचतकर्ताहरुको ८ करोड बढी रकम हिनामिना गरेका थिए । यो प्रकरणमा अध्यक्ष बिक पुर्पक्षकोलागि जेलमा छन् भने अन्य सञ्चालक समितिका सदस्यहरु धरौटी बुझाएर छुटेका छन् । यो प्रकरणमा पुर्ववाणिज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्मा पनि मुछिएका छन् । हिनामिना प्रकरण सार्वजनिक भएपछि सांसद विश्वकर्माले सहकारीका अध्यक्षको श्रीमतिको घरजग्गा आफ्नो श्रीमतिको नाममा नामसारी गरेका थिए । पीडित वचतकर्ताहरुले सांसद विश्वकर्माको पनि मिलेमतो भएको भन्दै उनलाई पनि कारबाही गर्न माग गर्दै आएका छन् ।