इटहरी : आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी माथिको अभियोग पत्र तीन दिनभित्र अदालतमा बुझाइने भएको छ ।

तेस्रो पटक म्याद थपको क्रममा तीन दिनभित्र मिसिल बुझाउनु भन्ने अदालतको आदेश बमोजिमको तयारी थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रवक्ता, डीएसपी बिनोद शर्माका अनुसार अदालतको आदेश बमोजिम तीन दिन भित्र कृष्णदास उपरको मुद्दा अदालत बुझाइने छ । डीएसपी शर्माका अनुसार कृष्णबहादुर गिरीसँगको बयान सकिएको छ ।
दुई पटक गरि ११ दिनको म्याद अस्पतालमै गुजारेका कृष्णदासलाई पछिल्लो पटक ३ दिन म्याद थप गरी पुनः बिराट नर्सिङ होममै लगिएको छ ।

प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस सुरु हुनेछ । थुनछेक पश्चात कृष्णदासलाई पूर्वक्ष्यकालागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा सादा तारिकमा छाड्ने तीन मध्ये एक आदेश हुन सक्ने कानुन व्यवसायीहरु बताउँछन् । कृष्णदासले हिरासत छल्नका लागि बिराट नर्सिङ होममा लामो समय अगाडिदेखि आँफू बिरामी भएको भन्दै बस्दै आएका छन् । उनले अस्पतालमै आफ्ना अनुयायीलाई भेट्ने गफ गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।