इटहरी: उद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन र बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले इटहरीमा महिला उद्यमशील मेला सुरु भएको छ ।

नेपाल उद्यमशील महिला महासंघको आयोजनामा इटहरीको टेलिकम नजिकै महिला मेला सुरु भएको हो । शनिबारबाट शुरु भएको मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले गरेका थिए । राज्यमन्त्री दुगडले महिलाहरुले मेला लगाउनु सराहनीय कार्य रहेको बताउँदै यसलाई सफल पार्नका लागि आह्वान गरे ।

mahila-mela-itri1

पुष ६ गतेसम्म लाग्ने मेलामा एक सय भन्दा बढी स्टल राखिएको अध्यक्ष देविका बुढाथोकीले बताईन् । उनका अनुसार महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु बजारसम्म नपुग्ने समस्या दीर्घकालीन समाधानका लागि पनि उक्त मेलाको आयोजना गरिएको हो । सीप सिक्न इच्छुकका लागि हामीले निःशुल्क १५ दिने प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेका छौँ, उनले भनिन्, उद्योग क्षेत्र अहिले जटिल अवस्थामा रहेको छ, यसको निराकारणका लागि पनि यो मेला आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, राष्ट्रिय सहकारी बैँककी सदस्य अमृता सुब्बा, उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिनेछन् ।

mahila-mela-irti2