सिन्धुपाल्चोक : ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।

मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनुु तामाङको मात्र सनाखत भएको छ । घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो ।

बस आज बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी-७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस आज फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

बसमा कुल ३२ जना सबार रहेको प्रहरीले जनाएको छ । बस क्षतविक्षत अवस्थामा छ । प्रहरी र स्थानीयले घटनास्थलमा उद्दार गरिरहेका छन् । घाइतेहरुलाई खाडीचौर, धुलिखेललगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।