धरान(डेस्क): सडक दुर्घटनामा परी आज धनकुटाका दुई जनाको ज्यान गएको छ भने सुनसरीमा एक जनाले ज्यान गुमाएका छन् ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धनकुटामा ट्रेलरले अटोलाई ठक्कर दिदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको हो । ट्रेलरको ठक्करबाट अटो चालक धनकुटा नगरपालिका २ का २५ बर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ का ४२ बर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । दिउँसो १२ बजे तिर धनकुटा छथर जोरपाटी २ फलैचास्थित कोशी लोकमार्गमा यो घटना भएको हो ।

घटना लगत्तै स्थानीयबासीले कोशी लोकमार्गअन्र्तगत जोरपाटीमा सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा चिसो मौषमको कारण पनि यात्रुहरुलाई निक्कै सास्ती भइरहेको छ । स्थानीयको चक्काजामले तेह्रथुम, संखुवासभाबाट आवातजावत गर्ने सवारीसाधनहरु ठप्प भएको धनकुटा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले चक्काजाम खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सञ्चार डेस्कले जानकारी दियो ।

हिलेबाट जोरपाटीतर्फ जादै गरेको को २ ह ६६११ नम्बरको अटोलाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ६९१२ नम्बरको ट्रेलरले ठक्कर दिएको थियो । ठक्करबाट अटोचालक पाख्रिन र अटोमा सवार शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्रेलर र ट्रेलर चालक संखुवासभा मादि मुलखर्कका ज्ञान बहादुर गुरुङलाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा राखेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरि, यता सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मोटरसाईकल दुर्घटनामा परी सिराहा भगवानपुर २ का ४५ बर्षीय बिरेन्द्रप्रसाद साहको मृत्यु भएको हो । आज बिहान साढे ९ बजे सुनसरीको कोशी गाँउपालिका १ लौकहीस्थित पुर्वपश्चिम राजमार्गमा बा ३५ प २९७५ नम्बरको मोटरसाईकल र भारतीय नम्बर प्लेटको बिआर ३८ एस ४८१६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो ।

उकत दुर्घटनामा परी बा ३५ प २९७५ नम्बरको मोटरसाईकल चालक साह घाईते भएका थिए । उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै मोटरसाईकलसहित अर्का चालक दिलिप मण्डल ईलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तस्बिर स्रोत: योगेशबाबु काफ्लेको फेसबुक