काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् ।

सोमबार भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक-एक खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे दशरथ रंगशालमा हुनेछ ।

यसअघि भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजलाई २-० ले पारजित गरेको थियो । लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ । मनाङ-मर्स्याङ्दी क्लब लिगको साविक विजेता हो । गत वर्ष नन रेलिगेसन लिग गरेको एन्फाले यस सिजन पुछारको एक क्लब घटुवा हुने प्रावधान राखेको छ ।