ताप्लेजुङ: ताप्लेजुङको फुङलिङ नगरपालिका११ स्थित पाथिभरादेवी मन्दिर परिसरबाट हिमपातमा फसेका ११ जना तीर्थालुहरुलाई सकुशल उद्दार गरेको छ ।

प्रहरीले ७ जना भारतीय नागरिक र ४ जना नेपाली नागरिकहरुलाई उद्दार गरी गन्तब्यस्थलसम्म पुर्याएको छ । मंसिर २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा भएपछि दर्शनार्थीहरु फर्किन सकेका थिएनन् । अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्दार गरेका थिए ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको उर्लाबारी नगरपालिका ९ का रमेश कार्की, तारा कार्की, अनमोल कार्की, सुबास थापासहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जनाको प्रहरीले उद्दार गरेको हो । उनीहरुलाई सोही दिन अपरान्ह ४ बजेको समयमा गन्तब्य स्थलसम्म पुर्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै, भोजपुरको साल्पा सिलिचो गाउँपालिका ६ स्थित बलौटे भन्ज्याङबाट हिमपातमा फसेका २ जनालाई प्रहरीले उद्दार गरी आफन्तलाई बुझाएको छ । उदयपुरको चौदणडीगडी नगरपालिका ७ का ४९ बर्षिय प्रेम कुमार राई र उनको श्रीमति ५८ बर्षीय पदमश्वरी राई धरानबाट भोजपुरको साल्पापोखरी घुमेर फर्कने क्रममा २७ गते हिमपातले हिउमा फसेका थिए । यो खबर पाउन साथ तत्काल प्रहरी चौकी दोभानेको प्रहरी टोली पुगेर उद्दार गरी दोभानेमा ल्याएका थिए । उनीहरुलाई गत २८ गते आफन्तको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।