इटहरी: करीब दुई बर्ष अगाडि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले इटहरी उपमहानगरपालिका वडा नं. २० का सुन पसलमा छापा मारेसँगै यहाँको व्यापारमा गिरावट आउन थाल्यो । व्यापारमा गिरावट मात्र भएन, यहाँका व्यवसायीहरुले गैरकानुनीरुपमा बित्तिय कारोबार गर्दै आएको खुल्न थाल्यो ।

तरहरामा सुन व्यवसाय गर्दै आएका रमेश गजमेरले ७ चैत्र २०७४ मा आत्महत्या गरे । रामधुनी ७ पञ्चायन घर भएका गजमेर तरहरास्थित मनकामना ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उनले तरहराका स्थानीय मानिसहरुको ऋण लिएको र चर्को ब्याज शुल्क तिर्दै आएका थिए । तर, पछि उनले सर्वसाधारणको क्रण फिर्ता गर्न नसकेका कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भयो । उनको मृत्युपछि तरहराको बजार तहसनहस भयो ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । रमेशले आत्महत्या गरसँगै यहाँका अन्य व्यापारीहरुले पनि सर्वसाधारणबाट लिएको रकम फिर्ता नगर्दा कोही कारागारमा छन् भने कोही तरहरा नै छाडेर फरार अवस्थामा रहेका छन् । तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक गजमेरले तरहराका सर्वसाधारण मानिसहरुको पैसा लिएर तिर्न नसक्दा अहिले कारागारमा रहेका छन् । करीब १५ करोड रुपैँया भन्दा बढी रकम उनले तिर्न नसेकेपछि अहिले उनी झुम्का कारागारमा रहेका छन् । सुनचाँदी व्यवसायी संघ तरहराका अध्यक्ष समेत रहेका दीपक सहित उनका बुवा र दिदी पनि कारागारमा रहेका छन् । उनी पूर्पक्षका लागि कारागारमा रहेका छन् । उनको मुद्दा अहिले पनि बिचाराधिन अवस्थामा रहेको छ । सर्वसाधारणको पैसा तिर्न नसक्दा उनी कारागारमा छन् भने अन्य मानिसहरु तरहराबाटै फरार रहेका छन् ।

उद्योग बाणिज्य संघ तरहराका अध्यक्ष समेत रहेका केशबराज गिरी (सुमन) अहिले तरहरा नै छाडेर फरार रहेका छन् । सर्बसाधारणको करोडौँ रुपैँया तिर्न नसकेपछि अहिले तरहरा नै छाडेर बाहिर रहेको बुझिएको छ । एक बर्षको भाका राखेर सर्वसाधारणबाट लिएको रकम फिर्ता गर्ने भनिएको भएपनि उनले पैसा तिर्न नसक्दा अहिले पीडितहरु रुष्ट बनेका छन् । एक पीडितले नाम नखुलाउँने शर्तमा भने, ‘हामीले बाँचुञ्जेल कमाएको ४२ लाख रुपैँया राख्न दिएका थियौँ, ब्याजको लोभमा पर्दा साँवा रकम पनि डुब्यो ।’

गिरीले पैसा फिर्ता गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म पैसा नतिरेका कारण आँफूहरु थप पीडित भएको उनको भनाई रहेको छ । ‘उहाँ अहिले काठमाडौँतिर बस्दै आउँनुभएको भन्ने सुनिएको छ, तर सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘बोलौँ भने पैसा डुब्ने डर छ, नबोलौँ भने  छोराछोरी पढाउन र खान लगाउँन नै मुस्किल छ ।’ गिरीको नाममा तरहरामा रुपाली कर्नर र रुद्राक्ष पार्टी प्यालेस सञ्चालनमा रहेको छ । गिरीले बचतकर्ताहरुसँग पैसा लिएर कसैलाई जग्गामा त कसैलाई पैसा दिने भन्दै आलटाल गर्दै आएको स्वयम् पीडितहरुको गुनासो रहेको छ ।

एक पीडितले भावुक हुँदै भने, ‘दिने बेलामा क्यास रकम दिएको हो, अहिले एक लाख रुपैँया पर्ने जग्गालाई पाँच लाख रुपैँयामा मिलाउँदै पनि आएका छन्, जग्गा नलिउँ भने पैसा डुब्ने डर समेत रहेको छ ।’ उनका अनुसार १ लाख पर्ने जग्गालाई पाँच लाखमा बेच्ने गरेका छन् । कमिशनको खेलमा उनका आफन्तहरु रहेको स्वयम् पीडितको गुनासो रहेको छ । मिटर ब्याजमा ऋण लिएका गिरीले अहिले पैसा तिर्न नसक्दा सयौँ सर्वसाधारण मानिसहरुको बिचल्ली भएको छ । उनको मोबाईल नम्बर ९८५२०५७०५५ मा  फोन सम्पर्क गरेर पटक-पटक यस बिषयमा बुझ्न खोज्दा उनको फोन स्वीच अफ गरिएको थियो ।

तरहरामा रहेको गजमेर ज्वेलर्सका सञ्चालक दीपक गजमेर पनि अहिले सर्वसाधारणको पैसा तिर्न नसकेका कारण फरार अवस्थामा रहेका छन् । उनले बचतकर्ताको पैसा तिर्न नसक्दा अहिले फरार भएका हुन् । उनी आफ्नो पसल नै बन्द गरेर बेपत्ता भएका छन् । यता तरहराको किराँतेश्वर ज्वेलर्सका सञ्चालक नरबहादुर राईले पनि बचतकर्ताको करोडौँ रुपैँया पैसा तिर्न नसक्दा पीडितहरु रुष्ट बन्दै आएका छन् । उनले पनि यहाँका मानिसहरुको पैसा संकलन गरेर राखेको भएपनि अहिले ऋण नै तिर्न नसक्दा पीडितहरुको व्यापक गुनासो आईरहेको छ ।

तरहराकी इन्दिरा भण्डारीले स्थानीयको डेढ करोड भन्दा बढी पैसा ऋणको रुपमा चलाएको भएपनि फिर्ता नगरेका कारण अहिले सर्बसाधारण आक्रोशित छन् । स्थानीय महेन्द्र कुमारी बस्नेतको मात्रै १४ लाख रुपैँया भण्डारीले ऋण मागेको भएपनि लामो समय हुँदा पनि फिर्ता नगरेपछि उनी आक्रोशित थिईन् । स्थानीय मानिसहरुसँग मात्रै नभई सहकारीसँग पनि व्यापार गर्छु भनी पैसा मागेको उनीमाथि आरोप छ ।
गैरकानुनी रुपमा तरहरामा खुलेआम रुपमा वित्तीय कारोबार गर्दै आएका मानिसहरुलाई सम्बन्धित निकायले कारबाही गर्न नसक्दा अहिले अधिकांश मानिसहरुको बिल्लीबाठ भएको छ । बचतकर्तालाई मिटर ब्याजको प्रलोभनमा पारेर संकलन गरेको पैसा अहिले फिर्ता गर्न नसक्दा यहाँ अरबौ रुपैँया जोखिममा पर्दै आएको छ ।

सर्वसाधारणलाई धेरै ब्याज दिने लोभ देखाएर पैसा लिने र आफूहरूले गैरकानुनी रुपमा विभिन्न क्षेत्रमा लगानी गरेर अकुत पैसा कमाउँदै आएको तरहराका केही व्यापारीहरूको पृष्ठभूमि हो । तरहरामा ४१ वटा सुन पसल संघमा दर्ता भएका थिए । तर, अहिले आधा दर्जन मात्र सुन पसल मात्र सञ्चालनमा छन्, कारोबार भने छैन । सुन व्यापारीहरु स्वयम् सुनको व्यापार नहुने बताउँछन् । यहाँका व्यापारीहरुले सर्वसाधारणको करोडौँ रुपैया पैसा नतिरेका कारण अहिले मानिसहरु छटपटाईरहेका छन् ।

यता तरहराका सामाजिक अगुवा धुर्ब भण्डारीले भने गैरकानुनी रुपमा आर्थिक संकलन गर्नु नै गलत रहेको तर्क गरे । उनले भने, ‘सामाजिक मूल्य मान्यता अनुसार ब्याज दिन नसकेपनि साँवा रकम त तिर्नै पर्छ ।’ यहाँका व्यापारीहरुले अवैध कारोबार गर्नु नै ठगी रहेको भएपनि सर्वसाधारणको रकम नतिर्नुले झनै ठगी भईरहेको भण्डारीले सुनाए । ‘भएको जायजेथा बेचेर भएपनि सर्वसाधारणको पैसा तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आफ्नो व्यापार सल्टाउनुको सट्टा अहिले भागेर चोखो हुन खोज्नेको कमी छैन ।’ ‘कानुन बिनाको अपराध त छदैँ थियो, यहाँका व्यापारीहरुको त नियत नै ठग देखियो,’ उनले भने । उनले व्यापारीहरुको नियतकै कारण ठगी बढेकाले तरहराबासी शंसकित अवस्थामा रहेको बताए ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने वडाले आर्थिक कारोबारमा केही पनि गर्न नसक्ने बताए । ‘कसैले पनि कसैको पैसा खाएर तिर्दिन भन्न पाईँदैन,’ उनले भने, ‘कसैलाई काखा, कसैलाई पाखा लगाउँने काम कसैले पनि गर्न हुँदैन, पीडितले आफ्नो पैसा पाउनुपर्छ ।’ उनले अहिले तरहरामा कुनै पनि पसलमा पैसा नराख्नका लागि आँफूहरुले सचेत गराउँदै आएको जानकारी दिए । ‘कसैले पनि पैसा खाएर भाग्न पाईँदैन नभए कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘हामीले अहिले सचेतना गराउँदै आएका छौँ, कसैलाई अफ्ट्यारो परेको खण्डमा वडाले सहजीकरण गर्न सक्छ ।’

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले भने बित्तीय कारोबारको अनुमति नलिईकन कारोबार गर्न नपाउने भएपनि तरहराका व्यापारीहरुले उक्त कारोबार गरेकाले सर्वसाधारणको रकम जोखिम रहेको औल्याएँ । उनले भने, ‘ब्याजमा पैसा लिएर पासबुक बनाउने गरेका रहेछन्, अनुमति बिना बैंकिङ कारोबार गरे कारबाही हुन्छ ।’ उनले कागज गरेरै पैसा राखेका पीडितहरु रहेको भएपनि उजुरी गर्न पनि आग्रह गरे । उजुरी गरेको खण्डमा कानुन बमोजीम दोषीलाई कारबाही हुने उनको भनाई रहेको थियो ।

तस्बिर क्याप्सन:  क्रमश सिंहदेवी ज्वेलर्सका दीपक गजमेर, रुद्राक्ष पार्टी प्यालेसका सुमन गिरी र गजमेर ज्वेलर्सका दीपक गजमेर । सिंहदेवीका गजमेर अहिले पूर्पक्षका लागि झुम्का कारागारमा छन् भने अन्य दुईजना तरहराबाटै फरार रहेका छन् ।