धरान: पत्रकार सन्तोष काफ्लेलाई आक्रमण गर्नेहरुलाई कानुनअनुसार कडा कारबाही गर्न माग गर्दै पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाएकोछ ।

पत्रकार महासंघ सुनसरीको टोलीले आज सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा ध्याकर्षण पत्र बुझाएको हो । पत्रकारहरुको टोलीले बिहान इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । पत्रमा पत्रकार काफ्लेमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न माग गरिएको छ भने काफ्लेलाई उपचार खर्चको व्यवस्था गर्न साथै क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि माग गरिएको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सम्बन्धित निकाय सबैबाट सृर्जना गर्न पनि माग गरिएको छ ।

इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाए पछि नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष किसोर कुमार कार्कीले भविष्यमा पत्रकारमाथि पुनः यस्तो घटना दोहोरिन नदिन अभियुक्तलाई अधिकतम कानुनी कारबाही हुनुपर्ने बताए । महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोहीले प्रहरीले घटनालगत्तै आक्रमणकारीहरुलाई नियन्त्रणमा लिएकोमा सन्तुष्टी व्यक्त गर्दै कडा कानुनी कारबाही हुनुपर्ने बताए । साथै उनले पत्रकारहरुले भयरहितरुपमा काम गर्ने वातावरण तयार गर्न पनि आग्रह गरे ।

santosh-kafle1

धरानका डिएसपी न्यौपानेले पत्रकार माथि भएको कुटपिटको घटनालाई गम्भीरतापुर्वक लिएर बढीभन्दा बढी सजाय दिलाउन कुटपिट र अंगभंगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको बताए । उनले पत्रकारहरु फिल्डमा जादा असुरक्षित महसुस गरेमा समन्वयन गरे सुरक्षा दिन सकिने बताए । यस्तै, उपचार खर्चको विल,मेडिकल रिपोर्ट साथै हराएको गहनाको विल उपलब्ध गराउन आग्रह गर्दै उपचार खर्च तथा क्षतिपूर्ति कानुन वमोजिम दिलाउन अदालतमा पेश गर्नुपर्ने पनि बताए । साथै, उनले पत्रकारहरुको सुरक्षामा प्रहरी सजग हुने पनि बताए । इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाइसके पनि पत्रकर महासंघको नेतृत्वमा पत्रकारहरु जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालय गएका थिए । पत्रकारहरुले सहायक प्रजिअलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले समाचार संकलन गर्न समयमा नआएको भन्दै पत्रकार सन्तोष काफ्लेमाथि कुटपिट गरेका थिए । काफ्लेको नाक भाचिएको छ भने देब्रो आँखाको नशा पनि चुटिएको छ । उनको विराटनगरमा आँखाको शल्यक्रिया पश्चात आराम गरिरहेका छन् । पत्रकार काफ्लेलाई आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध कुटपिट र अंगभंग मुद्दा दर्ता भएको छ ।

patrakar1 patrakar2