धरान: बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवालसहित ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्यिायारले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानबाट ५ लाख ५० हजार चेकमार्फत मिलेमतोमा भुक्तानी दिएको अनुसन्धानबाट खुलेको र भ्रष्टचारको कसुर प्रमाणित भएको दाबीसहित आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पुर्वरजिष्ट्रार श्रेष्ठसँगै आर्थिक प्रशासन प्रमुख सिंघाची अग्रवाल, सिनियर क्लर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाको पनि मिलेमतो देखिएकोले ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार सरकारी रकम हिनामिना गरी उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएको आयोगको ठहर छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०), सोही ऐनको दफा ३ को उपदफा (१०) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो ५ लाख ५० हजार कायम गरी चारै जनाबाट असुलउपर गर्न पनि अख्तयारको माग छ । गत बैशाखमा कुनै कारोबार नै नभएको व्यक्तिको नाममा ५ लाख ५० हजार रुपैया चेकमार्फत भुक्तानी भएको रहस्य बाहिरिएको थियो । पछि प्रतिष्ठानको खातामा पुनः पैसा जम्मा भएपनि अखितयारले अनुसन्धन थालेको थियो ।

प्रतिष्ठानका पुर्वरजिष्ट्रार श्रेष्ठमाथि यसअघि पनि भ्रष्टचारको मुद्दा दायर भइसकेको थियो । भ्रष्टचार मुद्दा दायरसँगै उनी निलम्बनमा परेका थिए । अहिले पुनः भ्रष्टचारको मुद्दा दायर भएपछि सिंघाची अग्रवालसँगै क्लर्कद्धय मगर र खतिवडा पनि स्वतः निलम्बनमा पर्नेछन् । यो चेककाण्ड सेलाउन नपाउदै वीपीमा अर्को ४ लाख ८० हजारको चेककाण्ड बाहिरएको छ ।