धरान(डेस्क): हिजो मंगलबार दिउँसो ४ पनि बजेको थिएन । मालपोत कार्यालय इनरुवाका प्रमुख ध्रुव कोइराला सेवाग्राहीको काम त्यतिकै थाती राखेर स्कुटीमा कतै निस्कन लागेका थिए ।

मालपोत कार्यालय परिसरमा २, ३ दिनदेखि काम अड्किएर थुप्रै सेवाग्राहीहरुले सास्ती भोगिरहेका थिए । उनीहरु त्यसै पनि आक्रोशित थिए । झन् काम बिचैमा छोडेर मालपोत हाकिम स्कुटरमा जान लागेपछि सेवाग्राहीहरुले उनलाई घेरिहाले । आक्रोशित सेवाग्राहीहरुबाट उनी उम्कन सकेनन् । काम नभएर आजित भएका सेवाग्राहीहरुको भिड उनीमाथि खनिनु अघि नै उनी दौडेर भागी हाले । हाकिम कोइराला गुहार माग्दै नजिकैको एक होटलभित्र पसेर ज्यान जोगाए ।

सेवाग्राहीहरुको भिडले निक्कै बेरसम्म होटल बाहिर नै हाकिमको प्रतिक्षा गरे । तर उनी निस्किएनन् । थुप्रै सेवाग्राहीहरु काम नबनेर हिजो पनि रित्तै घर फर्किए । घटनाको प्रत्यक्षदर्शी एवं सेवाग्राही सुनसरीको राजाबासका इन्द्र लिम्बुका अनुसार ३, ४ दिनदेखि जग्गा पास गर्न गएकाहरुलाई पनि हाकिमले झुलाइरहेका थिए । त्यसैले सेवाग्राहीहरु असाध्यै आक्रोशित थिए । श्रीमति र आफ्नो नामको जग्गा बिक्रीको पास गराउन ३ दिन देखि मालपोत धाइरहे पनि हाकिमले अनेक वहानामा रोकिदिएको उनले बताए । ‘एकदमै काममा ढिलासुस्ती छ, तीन चार दिनदेखि धाउदा पनि काम भइरहेको थिएन,’लिम्बुले भने,‘हिजो ४ बज्नुअघि नै स्कुटीमा जान लाग्दा रोकिनुस् भन्यौं, कि सही गरेर जानुस् भन्यौं । उहाँ झर्किनुभयो । सबै रिसाएर कराउन थाल्दा गुहार भन्दै होटलभित्र पसेर ज्यान जोगाये, नत्र जे पनि हुन्थ्यो ।’

घटना पछि हाकिम कोइरालाले आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नेपाल लेखापढी कानुन एशोसिएशन, इनरुवा इकाईका उपाध्यक्ष जिवराइल अन्सारीमाथि आरोप लगाउदै कारबाहीको माग गरेका छन् । एशोसिएशनका पुर्व जिल्ला अध्यक्ष हरि पोख्रेलले भने इकाई उपाध्यक्ष अन्सारीले दुव्र्यवहार नगरेको दाबी गरि । सेवाग्राहीहरुको कामै नगरी जान लागेका हाकिमलाई आक्रोशित सेवाग्राहीहरुले रोकेको र प्रमुख कोइरालाले अनाहकमा उपाध्यक्ष अन्सारीमाथि आरोप लगाएको उनले बताए । यता, मालपोत प्रमुख कोइरालाले घटनाबारे बोल्न चाहेनन् । आफु काठमाण्डौं गइरहेको र गाडीमा भएकोले केही कुरा नबुझिएको उनले बताए ।