धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई धन्यवाद दिएका छन् । नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाको संयोजनमा सोमबार धरानमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रम मार्फत राइले उपनिर्वाचनको जित सम्पुर्ण धराने जनताको जित रहेको बताए ।

नेबिसंघ र तरुण दलले दिनरात खटेर निर्वाचनमा सहयोग गरेको भन्दै राईले अब काम गर्ने समयमा पनि सहयोग गर्न आग्रह गरे । लामो समयपछि धरानमा कांग्रेसले बिजय हासिल गरेको भन्दै उनले अब सधै जित्ने गरि काम गर्ने प्रतिबद्धता जनाए ।

नेबिसङ्घका नेता टकेन्द्र राईले यो ऐतिहासिक जितले सम्पुर्ण युवाहरूमा उर्जा मिलेको बताए । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव दोर्ची शेर्पाले अब काम गर्ने बेला आएकोले जनताको आकाङ्क्षा अनुसार कामगर्नुपर्ने धारणा राखे । गोरखा डिपार्टमेन्टको हलमा आयोजना गरिएको कार्यक्रममा ३ सय बढी युवाहरुको उपस्थिति रहेको थियो ।
तरुण दल पुर्व केन्द्रिय सदस्य समेत रहेकी कांग्रेस नेतृ खतिवडाले तरुण दल र नेबिसङ्घ कांग्रेसको प्राण रहेको भन्दै प्राण बिना कांग्रेस पनि जिवित हुननसक्ने बताइन् । कांग्रेस लाई बलियो बनाउन नेबिसङ्घ र तरुण दललाई थप चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।