धरान : धरानमा यःमरी बनाउने तालिम सम्पन्न भएको छ । नेवाः देय् दवू, धरानको आयोजना र सिद्धि नेवाः परिषद् धरानको व्यवस्थापनामा सम्पन्न यःमरी बनाउने तालिममा १० जना पूरुष र ४० जना महिला गरी जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

यही पौष ९ गते देखि धरानको छाता चौकमा शुरु हुने ४ दिने आठौ यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवका लागि आवश्यक जनशक्ति तयार गर्न यस यःमरी बनाउने प्रशिक्षणको आयोजना गरिएको नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए । विहीबार सिद्धि नेवाः परिषद् धरान ७ को सभाहलमा सम्पन्न तालिममा नेवाः देय् दवूका केन्दिय सदस्य लक्ष्मी शाक्यले प्रशिक्षण दिए भने प्रशिक्षण सहयोगीको रुपमा नेवाः देय् दवूका प्रदेश १ का काषाध्यक्ष चन्द्र हलुवाई रहे । नेवार जातीको विभिन्न खाद्य परिकारहरु मध्ये एक महत्वपूर्ण र स्वादिष्ट परिकार यःमरी भएको र यःमरी बनाउन धेरै शीपको आवश्कता पर्ने सिद्धि नेवाः परिषद् धरानका अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए ।

विगतमा हुने यःमरी महोत्सवहरुमा यःमरीको माग अनुसारको तयार गरेर दिन नसकेको गुनासो आएको थियो । यस पटक यःमरीको गुणस्तरलाई पनि ध्यानमा राखेर तयार गर्न लागिएको छ । नेवाः समूदायले नयाँ धानबाली भित्राएपछि नयाँ चामलको पिठोबाट बनाएको शंख आकारको डल्लको विचमा शंखर र तिलको लेदो राखेर यःमरी तयार गरिन्छ । यो विभिन्न प्रकारकोले तयार गर्न सकिने नेवाः देय् दवूका केन्द्रिय सल्लाहकार सरला कायस्थले बताए ।

यःमरी परिकार यःमरी पूण्यका दिन मात्र खाने नगरेर अन्न प्रासन्न, जंकु, जन्मदिन जस्ता विभिन्न नेवारी कार्यक्रममा यःमरीको उपयोग हुने गर्दछ ।